

काठमाडौँ, भदौ १५ गते । भोटेकोशी बाढीबाट प्रभावित रसुवा र आसपासका क्षेत्रमा नेपाली सेनाले हवाई तथा जमिनी माध्यमबाट व्यापक खोज तथा उद्धार अभियान सञ्चालन गरिरहेको छ। भदौ १० गतेदेखि सोमबारसम्म सेनाले ३३८ जना विदेशी नागरिकसहित ३ हजार ५९६ जनाको सकुशल उद्धार गरिसकेको छ। प्रभावित नुवाकोट, धादिङ, चितवन लगायतका जिल्लाहरूमा ८ हजार ९ सयभन्दा बढी सैनिक प्रत्यक्ष रूपमा खटिएर खोज, उद्धार, शव व्यवस्थापन र आपतकालीन स्वास्थ्य सेवामा जोडिएका छन्।
विशेष गरी जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका नागरिकहरूको खोजी कार्यलाई सेनाले उच्च प्राथमिकता दिएको छ। त्रिशूली–३ ‘ए’ को सुरुङमा कन्ट्रोल ब्लास्ट गरी हिलो र लेदो हटाउने काम भइरहेको छ भने चिलिमे, अपर त्रिशूली–१ र लाङटाङ हाइड्रोका सुरुङहरूमा विशेषज्ञ टोली प्रवेश गरी सर्च लाइट र अत्याधुनिक उपकरणमार्फत खोजी भइरहेको छ। सुरुङभित्रको कठिन भौगोलिक अवस्थाका बावजुद टोलीले खोजी क्रममा केही शवहरू समेत सङ्कलन गरेको छ।
यसका साथै, सेनाले जङ्गल, खोला र बस्तीहरूमा पैदल गस्तीमार्फत राहत वितरण र उद्धारलाई निरन्तरता दिएको छ। स्थलमार्ग अवरुद्ध भएका क्षेत्रहरूमा हेलिकप्टरमार्फत २३ टनभन्दा बढी राहत सामग्री पुर्याइसकिएको छ भने त्रिशूली र धुन्चेका आपतकालीन उपचार केन्द्रमार्फत २ हजार ६ सयभन्दा बढी घाइते तथा बिरामीहरूलाई स्वास्थ्य सेवा प्रदान गरिएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
























