08/31/2026, 14:13:58
सोमबार, भदौ १५, २०८३

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भारी वर्षाको जोखिम : उच्च सतर्कता अपनाउन मौसम विभागको अपिल


काठमाडौँ, भदौ १५ गते । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्र लगायत देशका विभिन्न भागमा अबका केही दिन मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन अपिल गरेको छ। बाढीका कारण अस्तव्यस्त बनेका रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका पहाडी तथा हिमाली भेगमा थप वर्षाले थप जोखिम निम्त्याउन सक्ने भएकाले सतर्कताका साथ उद्धारमा खटिन विभागले आग्रह गरेको हो।

मौसमविद् हरिप्रसाद दाहालका अनुसार बाढी प्रभावित क्षेत्रहरूका साथै लाङटाङ र सिन्धुपाल्चोकका माथिल्लो हिमाली भू-भागमा आकस्मिक बाढी (फ्ल्यास फ्लड) आउन सक्ने सम्भावना छ। तल्लो तटीय क्षेत्रका बासिन्दा तथा उद्धारमा खटिएका सुरक्षाकर्मी एवं टोलीहरूलाई मौसमी पूर्वसूचना निरन्तर पछ्याउन मौसम पूर्वानुमान महाशाखाले सुझाव दिएको छ।

मौसम महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। वर्षाका कारण गेग्रान बहाव, पहिरो तथा भूक्षय भई कृषि, यातायात, पर्यटन, उद्धार तथा राहत कार्य प्रभावित हुन सक्ने जोखिम औँल्याइएको छ। बितेको २४ घण्टामा सिन्धुपाल्चोकको मेलम्ची-घ्याङमा सबैभन्दा बढी ८९.६ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ।