08/31/2026, 11:35:36
सोमबार, भदौ १५, २०८३

आजको मौसम: पहाड र हिमाली भेगमा भारी वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा ‘धेरै भारी वर्षा’ हुने


काठमाडौं, १५ भदौ । मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि देशभर सामान्य बदली रहने र पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमदेखि भारी वर्षा/हिमपातको सम्भावना जनाएको छ।

२०८३ भदौ १५ गते सोमबार बिहान ८ बजे जारी गरिएको विवरण अनुसार, आज दिउँसो देशभर सामान्यतया बादल लाग्नेछ। देशको हिमाली र पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्म वर्षा वा हिमपातको सम्भावना छ। यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धेरै स्थानमा तथा मधेश र कोशी प्रदेशका तराईका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षा हुन सक्छ। पहाडी भू-भाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आज राति पनि देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका धेरै तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपात हुनेछ।

महाशाखाले विशेष सतर्कता अपनाउन आग्रह गर्दै कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा ‘धेरै भारी वर्षा’ को सम्भावना रहेको जनाएको छ। यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली, पहाडी र तराई भू-भाग तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर सर्न गएकोले वर्षाको क्रम अझै केही दिन जारी रहने मौसमविद्हरूको भनाइ छ।