08/29/2026, 16:16:26
शनिबार, भदौ १३, २०८३
विपद् सङ्कटग्रस्त क्षेत्र

सरकारद्वारा बाढी प्रभावित ५ जिल्लाका १५ स्थानीय तह ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा


काठमाडौँ, भदौ १३ गते । नेपाल-चीन सीमास्थित भोटेकोशी र ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीपछि खोज, उद्धार, राहत तथा पुनर्निर्माण कार्यलाई तीव्र र प्रभावकारी बनाउन सरकारले ५ जिल्लाका १५ वटा स्थानीय तहलाई ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरेको छ।

गृह मन्त्रालयले शनिबार राजपत्रमा सूचना प्रकाशित गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ बमोजिम आगामी ३ महिनाका लागि यी क्षेत्रहरूलाई सङ्कटग्रस्त घोषणा गरेको हो।

घोषित सङ्कटग्रस्त क्षेत्रहरूमा रसुवाका ४ (उत्तरगया, गोसाइँकुण्ड, कालिका र आमाछोदिङमो गाउँपालिका), नुवाकोटका ४ (विदुर र बेलकोटगढी नगरपालिका, किस्पाङ र तारकेश्वर गाउँपालिका), धादिङका ४ (गल्छी, गजुरी, बेनीघाट रोराङ र सिद्धलेक गाउँपालिका), गोरखाको १ (गण्डकी गाउँपालिका) र तनहुँका २ (देवघाट र आँबुखैरेनी गाउँपालिका) रहेका छन्।

सङ्कटग्रस्त घोषणा भएसँगै सम्बन्धित स्थानीय तहहरूलाई राहत, उद्धार र पुनर्निर्माणका लागि आवश्यक निर्णय लिन तथा स्रोत-साधनको द्रुत प्रयोग गर्न कानुनी रूपमा सहज हुनेछ। ऐनको दफा ३३ ले दिएको अधिकार प्रयोग गरी प्रभावित क्षेत्रमा उद्धार र पुनर्निर्माणका कार्यहरूलाई थप द्रुत गतिमा अघि बढाउने लक्ष्य राखिएको छ।