08/29/2026, 09:10:53
शनिबार, भदौ १३, २०८३

अविरल वर्षाले देशभरका राजमार्गहरू अवरुद्ध, यात्रुहरूलाई उच्च सतर्कता अपनाउन प्रहरीको आग्रह


काठमाडौँ, भदौ १३ गते । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकासहित कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका मुख्य तथा सहायक राजमार्गहरू अवरुद्ध भएका छन्।

मेची राजमार्ग (इलाम), अरनिको राजमार्ग (सिन्धुपाल्चोक), सहिद राजमार्ग (रोल्पा), त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी (रसुवा), टोखा-छहरे (नुवाकोट) र जाजरकोट-डोल्पा सडकखण्ड पूर्ण रूपमा ठप्प भएका छन् भने नागढुङ्गा-मुग्लिन र पृथ्वी राजमार्गका कतिपय खण्डमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ।

बाढी र पहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै काभ्रे र मकवानपुर (कान्ति लोकपथ) लगायतका सडकखण्डहरूमा सुरक्षाका दृष्टिले सवारी साधन सञ्चालनमा समयसीमा तोकेर नियन्त्रण गरिएको छ। प्रहरी प्रधान कार्यालयले यात्रु तथा सवारी साधनको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै सडकको अवस्था र मौसममा सुधार नआएसम्म जोखिमयुक्त सडकखण्डहरूमा यात्रा नगर्न आग्रह गरेको छ।

प्रहरीले सर्वसाधारणलाई रातिको समयमा जोखिमयुक्त मार्गमा यात्रा नगर्न, सडकको पूर्वजानकारी लिएर मात्रै घरबाट निस्कन र बाढी/पहिरो आएको क्षेत्रमा जबर्जस्ती सवारी नचलाउन अनुरोध गरेको छ। हाल सम्बन्धित निकायहरूसँग समन्वय गरी पहिरो पन्छाउने र सडक पुनर्स्थापना गर्ने कार्य जारी राखिएको छ।