09/14/2026, 03:00:03
आइतबार, भदौ २८, २०८३

भाद्र कृष्ण प्रतिपदादेखि सुरु हुने साताव्यापी ‘गाईजात्रा’ पर्व शनिबार मनाइँदै


काठमाडौँ, भदौ १३ गते । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा‘ शनिबार उपत्यकासहित देशका विभिन्न सहरहरूमा मनाइँदै छ।

यस दिन दिवङ्गत आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर नगर परिक्रमा गराइन्छ। नगरपरिक्रमा गराउँदा श्रद्धालुहरूले दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने गर्छन्। यसो गर्नाले दिवङ्गत आत्माले वैतरणी नदी पार गर्ने धार्मिक विश्वास रहिआएको छ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीको मन शान्त पार्न र दुनियाँमा अरूले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन यो पर्वको सुरुवात गरेका थिए। रानीको मन अझै शान्त नभएपछि प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमहरू गराउने आदेश दिएसँगै गाईजात्रामा हाँस्यव्यङ्ग्यको परम्परा जोडिन पुगेको ऐतिहासिक जनश्रुति छ। हनुमानढोकास्थित राजप्रासाद भएर जात्रा लैजाने प्रथा अझै पनि कायम छ।

भाद्र कृष्ण अष्टमीसम्म मनाइने यस पर्वमा विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, प्रहसन, नाचगान र मृत व्यक्तिको सम्झनामा रामायणका करुण रसका गीतहरू गाइन्छ। उपत्यकाका काठमाडौँ, ललितपुर, भक्तपुरका साथै नेवार समुदायको बाहुल्य रहेका बनेपा, धुलिखेल, दोलखा, धरान, पोखरा लगायतका सहरहरूमा यो जात्रा धूमधामका साथ मनाइन्छ।

सरकारले उपत्यकामा गाईजात्राका दिन सार्वजनिक बिदा दिँदै आएकामा यस वर्ष भने यो पर्व शनिबारकै दिन परेको छ।