08/22/2026, 18:52:44
शनिबार, भदौ ०६, २०८३

नयाँ पर्यटकीय गन्तव्य ‘चुङरी बुकी’ मा पर्यटकको आकर्षण


बागलुङ, भदौ ६ गते । बागलुङको निसीखोला र पूर्वी रुकुमको भूमे गाउँपालिकाको सिमानामा अवस्थित चुङरी बुकी (चौरीखर्क) पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रूपमा फस्टाउँदै गएको छ।

PHOTO CREDITS : ritaroams6 (Instagram)
PHOTO CREDITS : ritaroams6 (Instagram)

समुद्री सतहबाट करिब ४,१०० मिटरभन्दा बढी उचाइमा रहेको यस क्षेत्रमा वर्षायाममा रातो, निलो, पहेँलो र सेतो रङका विभिन्न बुकी फूलहरू ढकमक्क फुल्ने गर्छन्। मौसम सफा हुँदा यहाँबाट धौलागिरि, सिस्ने र पुथा हिमाल लगायतका मनमोहक हिमशृङ्खलाहरूसँगै हरिया पाटन र भेडाका बथानहरूको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ।

PHOTO CREDITS : ritaroams6 (Instagram)
PHOTO CREDITS : ritaroams6 (Instagram)

काठमाडौँ, पोखरा, दाङ र बुटवल जस्ता ठाउँहरूबाट सामाजिक सञ्जाल तथा टिकटक हेरेर यहाँ पुग्ने पर्यटकहरूको संख्या दैनिक रूपमा बढ्दै गएको छ। पर्यटकको आगमनसँगै स्थानीय समुदायको आतिथ्यता, खानपान, होटल व्यवसाय, यातायात र घोडचढी व्यवसाय सञ्चालन गर्नेहरूले राम्रो आम्दानी गरिरहेका छन्। यसले समग्र बागलुङ र रुकुम क्षेत्रको आर्थिक गतिविधि र पर्यटन व्यवसायमा ठूलो टेवा पुर्‍याएको छ।

PHOTO CREDITS : ritaroams6 (Instagram)
PHOTO CREDITS : ritaroams6 (Instagram)

पर्यटकको संख्या ह्वात्तै बढे पनि मध्यपहाडी लोकमार्गको पातिहाल्ने खण्डबाट नजिकै रहेको सडकको दुरावस्था र उचित पूर्वाधारको अभाव अझै पनि चुनौतीका रूपमा रहेको छ। यसका साथै, पर्यटकले फालेका प्लाष्टिकका फोहोरहरूका कारण वातावरण तथा जैविक विविधतामा नकारात्मक असर परिरहेकाले स्थानीय स्तरमा फोहोर व्यवस्थापन र सचेतना बढाउन आवश्यक देखिएको छ।