08/15/2026, 17:39:41
शनिबार, साउन ३०, २०८३

प्रधानमन्त्री मोदीद्वारा निःशुल्क अनलाइन कोचिङ र १ करोड युवालाई एआई तालिम दिने घोषणा


नयाँदिल्ली, साउन ३० गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिस्पर्धात्मक परीक्षाको तयारी गरिरहेका युवाहरूका लागि निःशुल्क अनलाइन कोचिङ कक्षा सञ्चालन गर्ने घोषणा गर्नुभएको छ।

भारतको स्वतन्त्रता दिवसका अवसरमा नयाँदिल्लीस्थित ऐतिहासिक लालकिल्लाबाट देशवासीलाई सम्बोधन गर्दै उहाँले डिजिटल सार्वजनिक पूर्वाधार र दक्ष शिक्षाविद्हरूको प्रयोग गरी यो कक्षा सञ्चालन गरिने जानकारी दिनुभयो। प्रश्नपत्र चुहावट र भर्ना अनियमितताविरुद्ध युवाहरूले गरेको व्यापक विरोध प्रदर्शन तथा शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि सरकारले यो ठुलो कदम चालेको हो।

निःशुल्क अनलाइन कोचिङले विशेष गरी गरिब र मध्यमवर्गीय परिवारमाथिको आर्थिक बोझ कम गर्ने र विद्यार्थीहरूलाई घरबाहिर गएर महँगो निजी संस्थानमा धाउनुपर्ने बाध्यता अन्त्य गर्ने प्रधानमन्त्री मोदीले बताउनुभयो। भारतमा चिकित्सा तथा सरकारी सेवाका परीक्षा तयारीका लागि निजी कोचिङ उद्योग निकै महँगो बन्दै गएको सन्दर्भमा सरकारको यो निर्णयले लाखौँ परीक्षार्थीहरूलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

यसैबिच, प्रधानमन्त्री मोदीले आगामी एक वर्षभित्र देशका एक करोड युवालाई कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी सीपको तालिम दिने महत्त्वाकांक्षी योजनासमेत सार्वजनिक गर्नुभएको छ। विद्यार्थी आन्दोलनपछि रोजगारी र शैक्षिक अवसरप्रति युवा असन्तुष्टि सम्बोधन गर्न सरकारले कडा कानुनका साथै एआई तालिमजस्ता नयाँ कार्यक्रमहरू अघि बढाएको हो।