08/09/2026, 09:07:37
आइतबार, साउन २४, २०८३

किर्ते तथा ठगी मुद्दामा वडाध्यक्ष यादव पक्राउ


पश्चिम नवलपरासी, साउन २४ गते । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-७ का वडाध्यक्ष हरेन्द्र यादव किर्ते तथा ठगी अभियोगमा पक्राउ परेका छन्। मनोजकुमार पालले जाहेरी दिएपछि जिल्ला अदालत नवलपरासीले पक्राउ पुर्जी जारी गरे अनुसार प्रहरीले उनलाई नियन्त्रणमा लिएर हाल इलाका प्रहरी कार्यालय बेलाटारीमा राखेको छ।

पक्राउ पुर्जी जारी भएपछि वडाध्यक्ष यादवले उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट अल्पकालीन अन्तरिम आदेशको माग गरेका थिए। तर अदालतले आदेश दिन अस्वीकार गर्दै नियमानुसार कारबाही प्रक्रिया अगाडि बढाउन आदेश दिएको थियो।

अदालतबाट अन्तरिम आदेश नपाएपछि जिल्ला छाड्ने तयारी गरिरहेको अवस्थामा पूर्वी र पश्चिम नवलपरासीको सीमाक्षेत्रबाट प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी मदन थापाले बताए। जग्गासम्बन्धी लामो समयदेखिको विवादलाई लिएर पक्राउ परेका यादवलाई सोमबार अदालतमा पेस गरिने प्रहरीले जनाएको छ।