08/09/2026, 08:18:58
आइतबार, साउन २४, २०८३

प्रशान्त महासागरमा ‘अलनिनो’ बलियो बन्दै : नेपालमा तत्काल प्रभाव नगन्य, हिउँदमा जोखिम बढ्ने सम्भावना


काठमाडौँ, साउन २४ गते । प्रशांत महासागरमा ‘अलनिनो’ (El Niño) जलवायु प्रणाली तीव्र रूपमा बलियो भइरहे पनि नेपालमा यसको तत्काल प्रभाव एकदमै नगन्य देखिएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायु र जलवाष्पको प्रभाव उच्च रहेकाले अलनिनोको असर खासै पर्न सकेको छैन। असारदेखि हालसम्मको मनसुनी वर्षा सन्तोषजनक रहेको र न्यूनचापीय रेखा नेपालको तराई भू-भागनजिकै रहेकाले अझै केही दिन देशभर मनसुनी वर्षा सक्रिय रहने देखिन्छ।

अरेबियन सागर र बङ्गालको खाडीबाट जलवाष्पयुक्त वायु निरन्तर भित्रिरहेकाले नेपालमा वर्षाको दर राम्रो रहेको भए पनि हिउँदयाम सुरु भएसँगै अलनिनोको असर बढ्न सक्ने जोखिम भने कायमै छ। युरोप र अमेरिकाजस्ता क्षेत्रहरूमा भने यसको प्रभाव अहिले नै तीव्र रूपमा पर्न थालिसकेको छ। विश्व मौसम विज्ञान सङ्गठन र अमेरिकाको क्लाइमेट प्रेडिक्सन सेन्टरका अनुसार मध्य तथा पूर्वी प्रशान्त महासागरको समुद्री सतहको तापक्रम औसतभन्दा बढेकाले यस प्रणालीको प्रभाव विश्वव्यापी रूपमै विस्तार हुँदै गएको छ।

जलवायु विज्ञहरूका अनुसार सन् २०२६ को अगस्टदेखि अक्टोबरको अवधिमा अलनिनो प्रणाली अत्यधिक शक्तिशाली हुनेछ। यसको प्रभाव सन् २०२६ को अन्त्यसम्म अझ बलियो हुँदै जाने र सन् २०२७ को वसन्त ऋतुको सुरुवातसम्म कायम रहने ९७ प्रतिशत सम्भावना छ। यसले गर्दा आगामी दिनहरूमा विश्वका अधिकांश भू-भागमा तापक्रम साविकभन्दा बढ्ने र वर्षाको नियमित चक्रमा ठूलो फेरबदल आउने प्रक्षेपण गरिएको छ।