08/07/2026, 09:11:46
शुक्रबार, साउन २२, २०८३

१०० वर्ष पुरानो ऐतिहासिक गलकोट दरबारमा मल्लकालीन आकर्षण, एकै वर्षमा भित्रिए २० हजार पर्यटक


बागलुङ, साउन २२ गते । बागलुङको पर्यटकीय तथा ऐतिहासिक पहिचान बोकेको १०० वर्ष पुरानो गलकोट दरबारमा आन्तरिक पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढेको छ।

हरिचौर बजारस्थित यो ऐतिहासिक दरबारको उचित संरक्षण, सौन्दर्यीकरण र पर्यटकीय पूर्वाधारको विकास भएपछि पछिल्लो एक वर्षको अवधिमा मात्रै २० हजारभन्दा बढी पर्यटकले दरबार अवलोकन गरेका छन्।

द्वन्द्वकालका क्रममा वि.सं. २०५९ मा तत्कालीन राजाका सन्तानको हत्यापछि जीर्ण बनेर विस्थापित बनेको यो दरबारलाई हाल पुरानै मौलिक स्वरूपमा फर्काइएको छ। दरबारका कलात्मक झ्यालढोका मर्मत, रङरोगन तथा चिटिक्क बनाइएको परिसरले यहाँ आउने अवलोकनकर्ता, अध्ययनकर्ता र भिडियो/तस्बिर खिच्ने पर्यटकहरूलाई लोभ्याउने गरेको छ।

तत्कालीन राजा भरतबम मल्लका नाति मञ्जेश बम मल्लको सक्रियता र युवाहरूको रु. ५० लाख लगानीमा दरबार क्षेत्रभित्रै आकर्षक रेस्टुरेन्ट र माछापोखरी सञ्चालनमा ल्याइएको छ। पुर्खाको यो ऐतिहासिक नासोलाई जोगाउँदै स्थानीय पर्यटन प्रवर्धन गर्ने उद्देश्यले गरिएको प्रयासले अहिले गलकोटलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गराएको छ।