08/09/2026, 09:07:36
आइतबार, साउन २४, २०८३

सरकारी उद्योगमा सुधारको सङ्केत: घाटामा रहेका संस्थानहरू नाफामा जान थाले


काठमाडौँ, साउन २४ गते । नेपालका सरकारी स्वामित्वमा सञ्चालित उद्योग तथा संस्थानहरूमा पछिल्लो समय सकारात्मक सुधारको नतिजा देखिन थालेको छ। सरकारले अघि बढाएको सुधार अभियान, कानुनी कार्यान्वयन र व्यवस्थित टिमवर्कका कारण लामो समयदेखि घाटामा चलिरहेका वा बन्दप्राय रहेका उद्योगहरू पुनः नाफामूलक दिशातर्फ मोडिएका हुन्।

यसै क्रममा विगतमा कर्मचारीलाई तलब खुवाउनसमेत धौ-धौ परेको नेपाल औषधी लिमिटेडले गत आर्थिक वर्षमा ३ करोड रुपियाँ नाफा कमाएको छ भने उत्पादन विस्तार गर्दै आगामी दिनमा ३० करोड रुपियाँ बराबरको औषधी बिक्री गर्ने लक्ष्य राखेको छ।

त्यस्तै, दुग्ध विकास संस्थान (डिडिसी) को कारोबारमा पनि उल्लेख्य वृद्धि भएको छ। बजारमा माग बढेसँगै संस्थानको व्यापार ३५ प्रतिशतले वृद्धि भई दैनिक ६० हजार लिटर दुध वितरण हुँदै आएकोमा हाल ७० हजार लिटर पुगेको छ। संस्थानले दुध बिक्रीबाट हुने दैनिक सङ्कलन ९० लाख रुपियाँ पुर्‍याएको छ भने किसानको बक्यौता भुक्तानी चक्रलाई समेत घटाएर दुई-तीन महिनामा सीमित गरेको छ। यसका साथै नेपाल वायुसेवा निगमले चार महिनामै ६ अर्ब २७ करोड रुपियाँभन्दा बढी आम्दानी गरेको छ भने सिंहदरबार वैद्यखानाले ११ करोडभन्दा बढीको आयुर्वेदिक औषधी बजारीकरण गरेको छ।

दीर्घकालीन सुधारका लागि सरकारले जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग, उदयपुर सिमेन्ट लगायतका सात वटा बन्द तथा रुग्ण उद्योगहरूको सम्पत्ति तथा दायित्व मूल्याङ्कन (DDA) कार्य सम्पन्न गरिसकेको छ। DDA प्रतिवेदनका आधारमा यी उद्योगहरूलाई सरकार स्वयंले सञ्चालन गर्ने, निजी क्षेत्रलाई हस्तान्तरण गर्ने वा कस्तो लगानी ढाँचा अपनाउने भन्ने विषयमा अन्तिम निर्णय लिइनेछ। सरकारी संस्थानहरूको यो पुनर्जागरणले देशको समग्र अर्थतन्त्रमा नयाँ आशा र सकारात्मक सन्देश प्रवाह गरेको छ।

उद्योगको नामहालको अवस्थाDDA पछिको सम्भावित कदम
१. जनकपुर चुरोट कारखाना लिमिटेडDDA प्रतिवेदन तयार भएको

• सरकार आफैँले सञ्चालन गर्ने,


• निजी क्षेत्रलाई हस्तान्तरण गर्ने, वा


• नयाँ लगानी ढाँचा अपनाउने विषयमा निर्णय हुने

२. गोरखकाली रबर उद्योग लिमिटेडDDA प्रतिवेदन समितिमा पेस भइसकेको
३. उदयपुर सिमेन्ट उद्योग लिमिटेडDDA प्रतिवेदन तयार भएको
४. हेटौँडा सिमेन्ट उद्योग लिमिटेडDDA प्रतिवेदन तयार भएको
५. नेपाल मेटल कम्पनीDDA प्रतिवेदन तयार भएको
६. बुटवल धागो कारखानाDDA प्रतिवेदन तयार भएको
७. नेपाल ओरिन्ड एन्ड म्याग्नेसाइटDDA प्रतिवेदन तयार भएको