07/16/2026, 02:35:43
बुधबार, असार ३१, २०८३

सन्धिखर्कमा ऐतिहासिक सन्धिको सम्झनामा दुई राजाको सालिक स्थापना


अर्घाखाँची, असार ३१ गते । सन्धिखर्कको नामकरणसँग जोडिएको ऐतिहासिक सन्धिलाई जीवित राख्ने उद्देश्यले सन्धिखर्कस्थित शान्ति बगैँचामा तत्कालीन अर्घा र खाँची राज्यका दुई राजाको पूर्णकदको सालिक स्थापना गरिएको छ ।

सालिकमा तत्कालीन अर्घा राज्यका राजा अचिन्ताय शाह र खाँची राज्यका राजा विक्रम शाह हात मिलाएर सन्धि गरिरहेको दृश्यलाई मूर्त रूप दिइएको छ । युद्धभन्दा शान्ति, मेलमिलाप र सहकार्यको सन्देश बोकेको यो सालिक जिल्लाको ऐतिहासिक पहिचान र पर्यटन प्रवर्धनका दृष्टिले महìवपूर्ण मानिएको छ ।

इतिहास अनुसार नेपाल एकीकरणअघि चौबिसे राज्यकालमा अर्घा र खाँची छुट्टाछुट्टै राज्य थिए । दुई राज्यबिच पटक-पटक युद्ध भएपछि अन्ततः दुवै राजाले आपसी मेलमिलापका लागि बिच भागमा पर्ने खर्कमा भेट गरी सन्धि गरेका थिए । यही ‘सन्धि भएको खर्क’ बाट नै ‘सन्धिखर्क‘ नाम रहन गएको र पछि यही नाम जिल्ला सदरमुकामका रूपमा स्थापित भएको सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।

लुम्बिनी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालयको आर्थिक सहयोग र नगरपालिकाको समन्वयमा निर्माण गरिएको यो सालिकसँगै अब शान्ति बगैँचा पनि सुपादेउराली, पाणिनि तपोभूमि, अर्घा दरबार र खाँची दरबार जस्तै अर्घाखाँचीको नयाँ पर्यटकीय आकर्षण बनेको छ ।