

काठमाडौँ, साउन २२ गते। कर प्रणालीमा सुधार, वित्तीय सुशासन तथा आर्थिक पारदर्शिता कायम गर्ने उद्देश्यले आन्तरिक राजस्व विभागले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ को पहिलो चरणको भाग्य चिठ्ठा (लकी ड्र) नतिजा सार्वजनिक भएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा शुक्रबार आन्तरिक राजस्व विभागले साउन १ गतेदेखि १५ गतेसम्म वस्तु तथा सेवा खरिद गर्ने उपभोक्तामध्येबाट पारदर्शी रूपमा विजेता छनोट गरेको हो। पहिलो चरणमा एक किराना पसलबाट २५० रुपैयाँको सामान खरिद गरी कुपन नम्बर ००७३१५२५४४९३ प्राप्त गर्ने उपभोक्ताले १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन्। पुरस्कार रकममा नियमानुसार २५ प्रतिशत कर कट्टा गरी विजेतालाई तत्कालै ७ लाख ५० हजार रुपैयाँ भुक्तानी गरिने विभागले जनाएको छ।
त्यसैगरी, अन्य १५ जना उपभोक्ताले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ बराबरको उपहार प्राप्त गरेका छन्। कर कट्टा गरेपछि उनीहरूले नगद १ लाख रुपैयाँ प्राप्त गर्नेछन्।
विभागका अनुसार पहिलो चरणको विजेता छनोट २ करोड ५६ लाख ८ हजार ९४ वटा विद्युतीय कारोबार तथा ७ हजार ७७ वटा नगद कारोबार मध्येबाट गरिएको हो। विजेता छनोटका लागि निष्पक्ष र सुरक्षित मानिने ‘क्रिप्टोग्राफिकली सेक्योर युनिफर्म र्यान्डम स्याम्पलिङ विदआउट रिप्लेसमेन्ट’ विधि प्रयोग गरिएको विभागले जनाएको छ।
सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत उपभोक्ताले सामान तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल माग्ने र व्यवसायीले पनि अनिवार्य रूपमा बिल जारी गर्ने संस्कार विकास गर्ने उद्देश्यले यो कार्यक्रम ल्याएको हो। मूल्य अभिवृद्धि कर (भ्याट) तथा अन्य कर चुहावट नियन्त्रणसँगै सुरक्षित विद्युतीय भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्न कार्यक्रम महत्वपूर्ण हुने सरकारको विश्वास छ।
यस कार्यक्रममा सहभागी हुन उपभोक्ताले www.prize.ird.gov.np मा गई खरिद बिलको विवरण तथा बिक्रेताको स्थायी लेखा नम्बर (पान) प्रविष्ट गर्नुपर्नेछ। नगद भुक्तानीमार्फत कम्तीमा १०० रुपैयाँको खरिद गर्ने उपभोक्ताले बिल अपलोड गर्नुपर्नेछ भने विद्युतीय भुक्तानीमार्फत गरिने कारोबार भने प्रणालीबाट स्वतः कार्यक्रममा समावेश हुने व्यवस्था गरिएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
























