08/17/2026, 07:21:51
सोमबार, भदौ ०१, २०८३

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा राजीनामा


सुर्खेत, साउन १० गते । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । शनिबार बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उहाँले राजीनामाको घोषणा गर्नुभएको हो ।

गत असार ३२ गते नेपाली काँग्रेस र नेकपाका १६ जना सांसदहरूले मुख्यमन्त्री कँडेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। सोही अविश्वासको प्रस्तावमाथि छलफल गर्ने प्रयोजनका लागि शनिबार दिउँसो तीन बजे प्रदेशसभाको बैठक आह्वान गरिएको थियो।

यसअघि गत असार ३१ गते कर्णाली प्रदेश सरकारमा सहभागी सत्ता साझेदार दल काँग्रेसका चार जना मन्त्रीहरूले सामूहिक राजीनामा दिएका थिए। राजीनामा दिने मन्त्रीहरूमा आर्थिक मामिला मन्त्री राजीवविक्रम शाह, जलस्रोत मन्त्री विजया बुढा, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी हुनुहुन्थ्यो ।

कँडेल २०८० साल चैत २७ गते कर्णाली प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त हुनुभएको थियो। उहाँलाई तत्कालीन नेकपा (माओवादी केन्द्र) ले समर्थन गरेको थियो। केन्द्रमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढलेपछि काँग्रेस र एमालेले प्रदेश सरकारमा समेत नयाँ गठबन्धन निर्माण गरेका थिए।