07/21/2026, 11:05:06
मङ्गलबार, साउन ०५, २०८३
फिफा विश्वकप फुटबल २०२६

फिफा विश्वविजेता स्पेनले पायो पाँच करोड अमेरिकी डलर पुरस्कार


काठमाडौँ, साउन ४ गते । विश्व फुटबलको महाकुम्भ २३औँ फिफा विश्वकप फुटबल २०२६  स्पेनलाई च्याम्पियन बनाउँदै सकिएको छ ।

अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा आइतबार राति भएको फाइनल खेलमा साविक विजेता अर्जेन्टिनालाई १–० गोलले हराउँदै स्पेन च्याम्पियन बनेको हो ।

आर्थिक हिसावले हालसम्मकै ठूलो र महङ्गो मानिएको यस विश्वकपको उपाधिसँगै स्पेनले पाँच करोड अमेरिकी डलर (करिब सात अर्ब ६६ करोड ५० लाख नेपाली रुपियाँ) पुरस्कार पाएको छ ।

blog

यस पुरस्कार अघिल्लो संस्करणको भन्दा धेरै हो । सन् २०२२ को कतार संस्करणको विजेता अर्जेन्टिनाले चार करोड २० लाख अमेरिकी डलर पाएको थियो ।

यस्तै यसपटक उपविजेता अर्जेन्टिनाले तीन करोड ३० लाख, तेस्रो भएको इङ्ल्यान्डले दुई करोड ९० लाख र चौथो भएको फ्रान्सले दुई करोड ७० लाख अमेरिकी डलर पुरस्कार पायो ।

यस्तै पाँचौँ देखि आठौँ स्थानमा रहने टोलले एक करोड ९० लाख डलर, नवौँ देखि १६औँ स्थानमा रहनेले एक करोड ५० लाख, १७औँ देखि ३२औँ स्थानमा रहने टोलीले एक करोड १० लाख र समूह चरणबाटै बाहिरिने टोलीले ९० लाख अमेरिकी डलर पुरस्कार पाएको छ ।

आयोजक विश्व फुटबल महासङ्घ (फिफा) का अनुसार विश्वकपमा सहभागी ४८ वटै टोलीलाई तयारी खर्च स्वरुप १५ लाख अमेरिकी डलर पनि उपलब्ध गराईएको थियो ।