07/21/2026, 02:57:43
सोमबार, साउन ०४, २०८३
फिफा विश्वकप फुटबल २०२६

साविक विजेता अर्जेन्टिना स्तब्ध : १६ वर्षपछि स्पेन पुन: विश्वविजेता


काठमाडौँ, साउन ४ गते । २३औँ संस्करणको फिफा विश्वकपको उपाधि स्पेनले जितेको छ । अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा आइतबार राति भएको फाइनल खेलमा साविक विजेता अर्जेन्टिनालाई १–० गोल अन्तरले हराउँदै स्पेन च्याम्पियन बनेको हो ।

१६ वर्षपछि विश्वकप उपाधि जितेको स्पेनको यो समग्रमा दोस्रो विश्वकप उपाधि हो । यसअघि स्पेन सन् २०१० मा च्याम्पियन बनेको थियो ।

अर्जेन्टिनाविरुद्ध खेलको सुरुवातदेखि नै सानदार प्रदर्शन गरेको स्पेनले अतिरिक्त समयमा पुगेर निर्णायक गोल गरेको थियो । स्पेनको जितमा फेरान टोरेस नायक बने । टोरेसले खेलको १०६औँ मिनेटमा निको विलियम्सको पासमा उत्कृष्ट गोल गरेका हुन् । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

९०औँ मिनेटमा अर्जेन्टिना १० खेलाडीमा समेटिएपछि थप दबाबमा परेको थियो । उसका एन्जो फर्नान्डेज दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।

खेलमा लगातार पोस्ट प्रहारको अवसर बनाएको स्पेनलाई गोल गर्न भने हम्मेहम्मे परेको थियो । स्पेनका लगातारका प्रयासहरूमा अर्जेन्टिनाका गोलरक्षक एलिमियानो मार्टिनेज बाधक बनेका थिए । निर्धारित समयमै १० वटा पोस्ट प्रहार गरेको स्पेन अन्ततः अतिरिक्त समयमा बाजी मार्न सफल भयो । स्पेनको तुलनामा फितलो देखिएको अर्जेन्टिनाले खेलभर तीनवटा पोस्ट प्रहारको अवसर बनाए पनि सफल हुन सकेन ।

अर्जेन्टिनाको उपाधि रक्षा गर्ने सपना चकनाचुर भएपछि महान् फुटबलर लियोनल मेस्सी भावुक बन्दै उपविजेताको मेडल थाप्न बाध्य भए ।

गोल्डेन बुट एमबाप्पेको पोल्टामा

विश्वकप गोल्डेन बुट अवार्ड फ्रान्सका कप्तान किलियन एमबाप्पेले जितेका छन् । एमबाप्पेले प्रतियोगिताभर सर्वाधिक १० गोल गर्दै यो पुरस्कार जितेका हुन् । उनी लगातार दोस्रो पटक गोल्डेन बुट जित्ने खेलाडीसमेत बनेका छन् ।

यस्तै, गोल्डेन बल अवार्ड स्पेनका कप्तान रोड्रिगो हर्नान्डेज (रोड्री), गोल्डेन ग्लोभ्स स्पेनका गोलरक्षक उनाई सिमोन र फिफा योङ प्लेयरको उपाधि पाउ कुबार्सीले जितेका छन् ।

विजेता टोलीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विश्व फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले पुरस्कार प्रदान गरे । यस विश्वकपमा पहिलो पटक ४८ टोलीबिच प्रतिस्पर्धा भएको थियो ।