काठमाडौँ, साउन ३ गते । फिफा विश्वकप फुटबल २०२६ को फाइनल अन्ततः युरो च्याम्पियन स्पेन र दक्षिण अमेरिकी तथा विश्व च्याम्पियन अर्जेन्टिनाबिच हुने भएको छ । जुन अर्जेन्टिनाका कप्तान लियोनेल मेसीका लागि विश्वकप ट्रफी उचाल्ने अर्को खेल बन्न सक्छ ।
गत मार्चमा अर्जेन्टिना र स्पेनबिच कतारको लुजाइल रङ्गशालामै खेल हुने तय भएको थियो । युरोपेली च्याम्पियन र दक्षिण अमेरिकी च्याम्पियनबिच हुने ‘फिनालिसिमा’ मा यी दुई टिमले खेल्नुपर्ने थियो तर अमेरिका/इजरायलले इरानमाथि आक्रमण गरेपछि सो खेल रद्द गरियो । यद्यपि यी दुई टिमबिचको भिडन्त यसै वर्ष हुनै पर्ने लेखिएको रहेछ । अब आइतबार राति न्युजर्सीमा यी दुई टिम अझ ठुलो ट्रफीका लागि एकअर्कासँग भिड्दै छन् ।
यो फाइनल दक्षिण अमेरिकाविरुद्ध युरोप तथा जोसविरुद्ध अनुभवको पनि हुने छ । यो खेललाई महान् खेलाडीका रूपमा सम्भवतः अन्तिम पटक विश्वकपको मञ्चमा भिड्दै गरेका अर्जेन्टिनी लियोनेल मेसी र भविष्यमा महान् खेलाडी बन्न सक्ने खेलाडीका रूपमा लिइएका १९ वर्षीय स्पेनका विन्गर लामिने यमालको भिडन्तका रूपमा पनि लिइएको छ ।


मेसीमा हुने छ सबैको नजर
अर्जेन्टिना विश्वकप उपाधि रक्षा अभियानमा रहेको छ । चार वर्षअघि कतारमा भएको विश्वकपमा मेसीले अन्ततः विश्वकप उपाधिको पखाईलाई समाप्त पार्नुभएको थियो । सो विश्वकपमा विश्वकपमा मेसीले सात गोल गर्नुभयो । तीन गोलमा सहयोगीको भूमिका निर्वाह गर्नुभयो । फाइनलमा मात्र उहाँले दुई गोल गर्नुभयो । यसबाट थाहा हुन्छ अर्जेन्टिनालाई च्याम्पियन बनाउन मेसीको योगदान । यसपालि पनि अर्जेन्टिनाको आशा मेसीमै छ । अर्जेन्टिनाका लागि मेसीको ‘वन म्यान सो’ पनि जारी छ ।
मेसीले क्वाटरफाइनलअघि पाँच खेलमा लगातार गोल गर्नुभएको थियो । स्विट्जरल्यान्डसँगको क्वाटरफाइनल र इङ्ग्ल्यान्डविरुद्धको सेमिफाइनलमा भने मेसीले गोल गर्न सक्नुभएन । यद्यपि सेमिफाइनलमा अर्जेन्टिनाले गरेका दुवै गोल मेसीको एसिस्टमा सम्भव भएको थियो । सो खेलमा मेसी नै प्लेअर अफ दी म्याच बन्नुभयो । यस विश्वकपमा उहाँले आठ गोल र चार एसिस्ट गरिसक्नुभएको छ । पछिल्लो संस्करणमा उपाधि जित्दा मेसी ३५ वर्षको हुनुहुन्थ्यो । त्यसैले मेसीका लागि अब अर्को विश्वकप सम्भव नहुने देखिएको थियो तर अहिले ३९ वर्षको उमेरमा पनि मेसीले अझ आकर्षक फुटबल खेलिरहनुभएको छ । उहाँलाई जुलियन अल्भारेज, इन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजले पनि अग्रपङ्क्तिमा उत्तिकै साथ दिइरहनुभएको छ ।


अर्जेन्टिनाको कठिन फाइनल यात्रा
अर्जेन्टिना सन् १९६२ मा ब्राजिलपछि विश्वकप उपाधि रक्षा गर्ने पहिलो टिम बन्ने प्रयास गर्दै छ । स्पेनलाई हराएमा अर्जेन्टिना चौथो पटक विश्वविजेता बन्ने छ । यसअघि सन् १९७८, १९८६ र २०२२ मा अर्जेन्टिना विश्व च्याम्पियन बनेको थियो । यसै गरी अर्जेन्टिनाले पछिल्ला चार विश्वकपमध्ये तीनमा फाइनल खेल्ने गौरव हासिल गरिसकेको छ । यद्यपि यसपालि अर्जेन्टिनाको सेमिफाइनलसम्मको यात्रा अपेक्षा गरेभन्दा कठिन भएको छ । विशेषतः नकआउट चरणमा अर्जेन्टिनाले तिनै खेल बल्लतल्ल जितेको हो ।
नवप्रवेशी केप भेर्डेलाई ३–२ ले हराउन अर्जेन्टिनालाई अतिरिक्त समयको आवश्यकता प¥यो । त्यसपछि प्रिक्वाटरफाइनलमा इजिप्टविरुद्ध अर्जेन्टिना अन्तिम ११ मिनेटसम्म दुई गोलले पछाडि थियो । अर्जेन्टिनाले क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई पनि अतिरिक्त समयमा ३–१ ले हराएको हो । स्विट्जरल्यान्ड एक खेलाडीको बेफाइदामा हुँदा पनि अर्जेन्टिनालाई सो खेलमा फाइदा पुगेको थियो ।
यसै गरी इङ्ग्ल्यान्डविरुद्ध अर्जेन्टिना खेलको ८५ औँ मिनेटसम्म १–० ले पछाडि थियो । अन्तिम समयमा इन्जो र स्थानापन्न खेलाडी लाउटारोले गोल गरेपछि मात्र अर्जेन्टिनाले जिततर्फ अग्रसर इङ्ग्ल्यान्डलाई स्तब्ध पारेको हो । यी दुवै गोलमा मेसीले सहयोग गर्नुभएको थियो । समूह चरण भने अर्जेन्टिनाले सहजै पार गरेको थियो । समूह ‘जे’ मा अर्जेन्टिनाले अल्जेरियालाई ३–०, अस्ट्रियालाई २–० र जोर्डनलाई ३–१ ले हराएको हो । यस विश्वकपमा अर्जेन्टिनाको सबभन्दा ठुलो विशेषता भनेको अन्तिम समयसम्म हार नमान्ने रहेको छ । अर्जेन्टिनाको टिममा पछिल्लो पटक विश्वकप जितेका २६ खेलाडीमध्ये १७ जना अहिले पनि टिममा छन् ।


स्पेनको लोभलाग्दो यात्रा
स्पेनको फाइनलसम्मको यात्रा भने अर्जेन्टिनाको जस्तो कठिन देखिएको छैन । स्पेनको फाइनलसम्मको यात्रा सहज, संयमित र लोभलाग्दो छ । लुइस डी ला फुयन्टेको प्रशिक्षकत्वमा रहेको स्पेन पहिलो खेलमा नवप्रवेशी केप भेर्डेसँग अनपेक्षित रूपमा गोलरहित बराबरीमा रोकिएको थियो । जसले गर्दा पहिलो खेलमै स्पेनको आलोचना भयो । यस खेललाई विश्वकप इतिहासकै स्तब्धकारी नतिजामध्ये एकका रूपमा लिइयो । त्यसपछि स्पेन दुई पटकको विश्वविजेता उरुग्वे र एसियाको साउदी अरबलाई हराएर समूह विजेता बन्यो ।
स्पेनले यस विश्वकपमा १२ गोल गरेर एक गोल मात्र बेहोरेको छ । यस क्रममा स्पेनका गोलरक्षक उनाई सिमन्सले ६५० मिनेटपछि विश्वकपमा गोल नबेहोरेर कीर्तिमान राख्नुभयो । क्वाटरफाइनलमा बेल्जियमका फरवार्ड चाल्र्स डी केटेलारेले सानदार हेडरले गोल गरेपछि मात्र सिमन्सको कीर्तिमान थप लम्बिन पाएन । सन् २०२४ मार्चदेखि नहारेको स्पेनको निर्धारित समयमा अपराजित यात्रा ३७ खेल पुगेको छ । उसले २८ मा जित र नौ बराबरीमा खेलेको छ ।
समूह चरण पार गरेपछि स्पेनले फाइनलसम्मको यात्रामा लगातार युरोपकै चार बलिया टिमलाई पन्छाएको छ । मिकेल ओयरजाबलको दुई गोलले अन्तिम ३२ मा अस्ट्रियालाई हराउन स्पेनलाई गाह्रो भएन । त्यसपछि स्पेनले प्रिक्वाटरफाइनलमा क्रिस्टियानो रोनाल्डोको पोर्चुगललाई १–० र बेल्जियमलाई २–१ ले पराजित ग¥यो । दुवै खेलमा मिकेल मेरिकोले अन्तिम समयमा स्थानापन्न खेलाडीका रूपमा मैदान प्रवेश गरी निर्णायक गोल गर्नुभएको हो ।
स्पेन सावधानीपूर्ण र बलमाथि नियन्त्रण बनाएर आक्रमण गर्ने फुटबल खेल्दै छ । जुन शैलीमा खेलेर स्पेन सन् २०१० मा विश्वकप च्याम्पियन बनेको थियो । डी ला फुएन्टेकै प्रशिक्षकत्वमा स्पेनले सन् २०२३ मा युइएफए नेसन्स लिग र सन् २०२४ मा युरोपियन कप जितेको थियो । पछिल्लो वर्ष पनि स्पेनले नेसन्स लिगको फाइनल खेलेको थियो । स्पेन एकजुट भएर फुटबल खेल्नेमा विश्वास गर्ने टिम हो । यस टिममा रोड्री, पेड्री र फाबियन रुइज जस्ता विश्वस्तरीय मिडफिल्डर हुनुहुन्छ । सो मिडफिल्डलाई अहिलेका सनसनी ‘टिनेज’ विन्गर यमालको साथ छ । स्पेनका फरवार्डमध्ये अनपेक्षित रूपमा आयरजाबल पाँच गोल गरेर चम्किनुभएको छ । स्पेनी फरवार्डमा वैकल्पिक स्ट्राइकर मेरिनोको पनि चर्चा छ ।


हेड टु हेडमा बराबर
यी दुई देशबिच अहलेसम्म १४ अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमध्ये दुवैले समान छ÷छ खेल जितेका छन् । दुई खेल बराबरीमा सकिएको थियो । विश्वकप फुटबलमा स्पेन र अर्जेन्टिनाले एकअर्कासँग एक पटक मात्र सामना गरेका छन् । सन् १९६६ को समूह चरणमा भएको सो खेलमा अर्जेन्टिनाले स्पेनलाई २–१ ले पराजित गरेको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



























