काठमाडौँ, असार ३२ गते । साविक विजेता अर्जेन्टिना फिफा विश्वकप फुटबल २०२६ को रोमाञ्चक फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको एटलान्टा स्टेडियममा बिहीबार बिहान सम्पन्न सेमिफाइनल भिडन्तमा अर्जेन्टिनाले इङ्ल्यान्डमाथि २–१ को सङ्घर्षपूर्ण र शानदार पुनरागमन जित दर्ता गरेको हो।


खेलमा सुरुवाती दबाब भने इङ्ल्यान्डले सिर्जना गरेको थियो। ५५औँ मिनेटमा एन्थोनी गोर्डनले पोस्ट नजिकैबाट उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। एक गोलले पछि परेको स्थितिमा थप आक्रामक बनेको अर्जेन्टिनाले खेलको अन्तिम समयतिर उत्कृष्ट पुनरागमन गर्यो।


८५औँ मिनेटमा कप्तान लियोनल मेस्सीको पासलाई सदुपयोग गर्दै एन्जो फर्नान्डेजले डिबक्स बाहिरबाट विपक्षी गोलरक्षकलाई कुनै मौका नदिई सशक्त प्रहारमार्फत बललाई जाली चुमाए र खेल १–१ को बराबरीमा ल्याए।


त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा लौटारो मार्टिनेजले कप्तान मेस्सीकै पासमा एक सुन्दर हेड गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरे। खेलमा दुवै गोलका लागि बल मिलाएका कप्तान लियोनल मेस्सी ‘प्लेयर अफ दि म्याच‘ चुनिए। मेस्सी जारी विश्वकपमा हालसम्म ८ गोल गर्दै गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडि छन्।


लगातार दोस्रो पटक विश्वकपको फाइनल यात्रा तय गरेको अर्जेन्टिनाले अब उपाधि रक्षाका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले साविक उपविजेता फ्रान्सलाई २–० गोलले हराउँदै फाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





























