07/16/2026, 11:29:32
बिहिबार, असार ३२, २०८३
फिफा विश्वकप फुटबल २०२६ : मेसी र बेलिङ्घमको रोचक टक्कर

इङ्ग्ल्यान्ड र अर्जेन्टिनाको महा-भिडन्त, इतिहास र राजनीतिको रोचक विरासत

पुराना हारको बदला लिन जर्सी नै फेर्दै अर्जेन्टिना, यस्तो छ इङ्ग्ल्यान्डसँगको ऐतिहासिक भिडन्त


एट्लान्टा (अमेरिका), असार ३१ गते । विश्वकप फुटबलमा इङ्ग्ल्यान्ड र अर्जेन्टिनाको प्रतिद्वन्द्विता सबैभन्दा हेर्नलायक मानिन्छ । विश्वकप फुटबल २०२६ मा यी दुई टिमको भिडन्त सेमिफाइनलमा हुँदै छ। दशकौँदेखिको फुटबल प्रतिद्वन्द्विता मात्र होइन, यी दुईबिचको खेलमा राजनीतिक इतिहास पनि मिसिएको छ।

ऐतिहासिक भिडन्त र बदलाको शृङ्खला

सन् १९६२ पछि विश्वकपमा यी दुई टिमबिचको प्रतिस्पर्धामा इङ्ग्ल्यान्डले तीन खेल जितेको छ तर विश्व फुटबलमा चर्चा भने इङ्ग्ल्यान्डले हारेका दुई खेलको हुने गर्दछ ।

  • सन् १९८६ को ‘ह्यान्ड अफ गड’: क्वाटरफाइनलमा डिएगो म्याराडोनाको अलोकप्रिय ‘ह्यान्ड अफ गड’ र शताब्दीकै उत्कृष्ट गोलको सहयोगमा अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई हराएको थियो । सो समय अर्जेन्टिनाले यस जितलाई फकल्यान्ड युद्धमा ‘ब्रिटिस’ सँग हारेको बदलाका रूपमा लिएको थियो ।
  • सन् १९९८ को रातो कार्ड काण्ड: १२ वर्षपछि यी दुई टिमबिचको खेल सो समयका सुपर स्टार डेभिड बेकह्यामले डिएगो सिमियोनीलाई प्रहार गरेर रातो कार्ड पाएपछि चर्चित भयो । बेकह्यामको रातो कार्ड इङ्ग्ल्यान्डको पराजयको मुख्य कारण बन्यो।
  • बेकह्यामको बदला: यद्यपि, बेकह्यामले चार वर्षपछि (२००२ मा) गोल गरेर अर्जेन्टिनालाई समूह चरणबाटै बिदा गराउँदै बदला लिनुभएको थियो।

ऐतिहासिक कीर्तिमानको होड

  • अर्जेन्टिना: सन् १९६२ मा ब्राजिलपछि विश्वकप उपाधि रक्षा गर्ने पहिलो टिम बन्ने प्रयासमा अर्जेन्टिना छ। इङ्ग्ल्यान्डविरुद्ध जित प्राप्त गरेमा अर्जेन्टिनाले पछिल्ला चार विश्वकपमध्ये तीनमा फाइनल खेलेको गौरव हासिल गर्ने छ।
  • इङ्ग्ल्यान्ड: सन् १९६६ मा विश्वकप जितेको ऐतिहासिक गौरवलाई दोहो¥याउने अभियानमा इङ्ग्ल्यान्ड छ। सो विश्वकप इङ्ग्ल्यान्डको अहिलेसम्मकै एक मात्र प्रमुख अन्तर्राष्ट्रिय उपाधि हो। त्यसपछि इङ्ग्ल्यान्डले कैयौँ पटक नजिक पुगेर पनि उपाधि जित्न सकेको छैन। पछिल्ला आठ वर्षमा इङ्ग्ल्यान्ड विश्वकप २०१८ को सेमिफाइनल तथा युरो २०२१ र २०२४ को फाइनलमा पुगेर पनि उपविजेतामै सीमित भएको थियो।

विश्वकप सेमिफाइनल त्यो पनि एक महान् टिम, फुटबलको पावरहाउस इङ्ग्ल्यान्डविरुद्ध; तर हामी आफ्नो शतप्रतिशत दिएर फाइनलमा पुग्ने प्रयास गर्ने छौँ।
— लियोनेल मेसी, कप्तान, अर्जेन्टिना

कठिन यात्रा भर्सेस प्रभावशाली प्रदर्शन

उपाधि रक्षा अभियानमा रहेको अर्जेन्टिनाको सेमिफाइनलसम्मको यात्रा अपेक्षा गरेभन्दा निकै कठिन रह्यो। विशेषत नकआउट चरणमा अर्जेन्टिनाले तिनै खेल सङ्घर्षपूर्ण रूपमा जितेको हो:

  • केप भेर्डेविरुद्ध: ३–२ को जितका लागि अतिरिक्त समयको आवश्यकता प¥यो।
  • इजिप्टविरुद्ध: खेलको अन्तिम ११ मिनेट बाँकी छँदासम्म अर्जेन्टिना २ गोलले पछाडि थियो।
  • स्विट्जरल्यान्डविरुद्ध: क्वाटरफाइनलमा अतिरिक्त समयमा ३–१ को जित निकाल्यो, जहाँ विपक्षी खेलाडीले रातो कार्ड पाउनु अर्जेन्टिनाका लागि फाइदाजनक बन्यो।

यसको विपरीत, इङ्ग्ल्यान्डको यात्रा भने प्रभावशाली देखिएको छ। थोमस टुचेलको टिमले सहआयोजक मेक्सिकोविरुद्ध अन्तिम १६ को खेलमा १० खेलाडीमा सीमित भएर पनि जित निकाल्यो। त्यसपछि इर्लिङ हालान्डको नर्वेलाई अतिरिक्त समयमा २–१ ले पाखा लगायो।

मुख्य खेलाडीहरू: मेसी भर्सेस बेलिङ्घम र केन

  • युड बेलिङ्घम र हेरी केन (इङ्ग्ल्यान्ड): रियल म्याड्रिडका २३ वर्षीय मिडफिल्डर बेलिङ्घम इङ्ग्ल्यान्डका मुख्य हतियार हुन्। उनले मेक्सिको र नर्वेविरुद्ध २-२ गोल गरे। इङ्ग्ल्यान्डले गरेका १३ मध्ये १२ गोल बेलिङ्घम र कप्तान केन (६/६ गोल) ले गरेका छन्। बाँकी एक गोल मार्कस् ¥यासफर्डको नाममा छ।
  • लियोनेल मेसी (अर्जेन्टिना): क्वाटरफाइनलबाहेक अर्जेन्टिनाका लागि मेसीले ‘वन म्यान शो’ गरिरहेका छन्। ८ गोल र २ असिस्टसहित उनी गोल्डेन बुटको दौडमा फ्रान्सका किलियन एम्बापेसँगै शीर्ष स्थानमा छन्।

अवे जर्सीको ‘अन्धविश्वास’ र नयाँ रणनीति

अर्जेन्टिनाले यस सेमिफाइनलमा आफ्नो परम्परागत सेतो र निलो धर्का भएको जर्सी प्रयोग नगर्ने भएको छ। विगतमा सन् १९६६ र २००२ को विश्वकपमा इङ्ग्ल्यान्डसँग पराजित हुँदा अर्जेन्टिनाले सोही परम्परागत जर्सी लगाएको थियो। त्यसैले, यस पटक हारको इतिहास नदोहोरियोस् भन्नका लागि अर्जेन्टिनाले फिफासमक्ष अवे जर्सी लगाएर खेल्ने अनुरोध गरेको थियो, जसलाई फिफाले स्वीकृत गरिसकेको छ। इङ्ग्ल्यान्ड भने आफ्नो परम्परागत सेतो जर्सीमै मैदान उत्रने छ।