07/14/2026, 08:02:50
मङ्गलबार, असार ३०, २०८३
फिफा विश्वकप फुटबल २०२६

विश्वकपमा सर्वाधिक चर्चा र माया पाएका खेलाडी – इर्लिङ हालान्ड


मियामी, असार ३० गते । फिफा विश्वकप फुटबल २०२६ मा इङ्ग्ल्यान्डसँगको क्वाटरफाइनलमा पराजित भएपछि नर्वेसँगै इर्लिङ हालान्डको यात्रा पनि समाप्त भएको छ ।

यस हारसँगै हालान्ड गोल्डेन बुटको दौडबाट पनि बाहिरिनुभयो । यस विश्वकपमा सात गोल गरेर हालान्ड सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो स्थानमा रहनुभएको छ । उहाँभन्दा अगाडि फ्रान्सका किलियन एम्बापे र अर्जेन्टिनाका लियोनेल मेसी मात्र हुनुहुन्छ ।

इङ्ग्ल्यान्डविरुद्धको खेलमा हालान्डले अपेक्षा अनुरूप खेल्न सक्नुभएन । उहाँलाई अतिरिक्त समयको दोस्रो हाफमा स्थानापन्न पनि गरियो । चालु विश्वकपमा हालान्ड पहिलो पटक गोल गर्न असफल हुनुभएको हो । यद्यपि यस विश्वकपमा हालान्डको यात्रा प्रभावशाली थियो । हालान्ड यस विश्वकपमा सबभन्दा चर्चा र माया पाएका खेलाडी हुनुहुन्छ । हालान्डले आफ्नो प्रेरणादायी खेलले नर्वेलाई गराएको क्वाटरफाइनलसम्मको यात्रा यस विश्वकपको सुन्दर कथामध्ये एक बनेको छ ।

हालान्डले भन्नुभयो, “विश्वकपले मेरो जीवन परिवर्तन गरेको छ, यसै गरी हामीले नर्वेलाई पनि फुटबलको नक्सामा सही ठाउँमा पु¥यायौँ जस्तो लाग्छ ।

म्यान्चेस्टर सिटीका स्ट्राइकर हालान्ड पहिलो पटक विश्वकप फुटबल खेलनुभएको हो तर प्रिमियर लिगमा म्यान्चेस्टर सिटीका लागि पछिल्ला चार वर्ष हरेक सत्र ३० भन्दा बढी गोल गरेपछि उहाँमाथि सबैको नजर थियो ।

हालान्डले नर्वेको जर्सीमा ५४ बलमा ६२ गोल गर्नुभएको छ । जुन असाधारण गोल औसत हो । त्यसैले उहाँलाई विश्वकपअघि नै यस प्रतियोगिताका सबैभन्दा घातक फरवार्डमध्ये एक मानिएको थियो । उहाँ विश्वकपमा आफूमाथिको अपेक्षामा खरो उत्रनुभएको छ । उहाँका बुवा एल्फी हालान्डले पनि नर्वेका लागि विश्वकप (सन् १९९४) खेलिसक्नुभएको छ ।