07/13/2026, 21:38:37
सोमबार, असार २९, २०८३
फिफा विश्वकप फुटबल २०२६

आगामी विश्वकपमा ६४ टोली खेलाउने सम्भावना


काठमाडौँ, असार २९ गते । जारी फिफा विश्वकप फुटबल २०२६ मा ४८ टोली प्रतिस्पर्धामा थिए । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको यस विश्वकपमा सेमिफाइनल समीकरण पूरा भएको छ ।

साविक विजेता अर्जेन्टिना, उपविजेता फ्रान्स, स्पेन र इङ्ल्यान्डले अन्तिम चारमा स्थान बनाएसँगै आगामी विश्वकपमा सहभागिताको सङ्ख्या बढाउने सम्भवना बारे छलफल गरिने विश्व फुटबल महासङ्घ (फिफा)का अध्यक्ष जियानी इन्फान्टिनोले बताउनुभएको छ ।

सन् २०३० को विश्वकपमा ४८ बाट बढाएर ६४ टोली पुर्‍याइने सम्भावना बारे फिफाको सम्बन्धित समितिमा छलफल गरिने अध्यक्ष इन्फान्टिनोको भनाइ छ । उहाँले विश्वकपको दायरा अझ फराकिलो बनाउन टोलीको विस्तार आवश्यकता रहेको पनि उल्लेख गर्नुभयो ।

इन्फान्टिनोले भन्नुभयो, ‘‘विश्वकप आयोजना गर्दा युरोप र दक्षिण अमेरिकालाई मात्र होइन, सम्पूर्ण विश्वले प्रतिनिधित्व गर्न पाउनुपर्छ । हरेक राष्ट्रले विश्वकप खेल्ने सपना देख्न पाउनुपर्छ । यसले साना देशलाई पनि थप मौका हुने छ ।’’

उहाँले यस विश्वकपमा सहभागि टोली बढाउँदा धेरै टोलीको फुटबल स्तर माथि गएको देखिएको पनि बताउनुभयो । सहभागिता सङ्ख्या बढाउँदा साना देशलाई विश्वकप खेल्न र उच्च प्रदर्शन गर्न प्रेरणा मिल्ने इन्फान्टिनोको भनाइ छ ।

विश्वकपमा यसअघि ३२ टोलीबिच प्रतिस्पर्धा हुँदै आएको थियो । यस विश्वकपमा पहिलो पटक ४८ टोली खेलाइएको हो । सन् २०३० को विश्वकप पोर्चुगल, मोरक्को र स्पेनले संयुक्त रूपमा आयोजना गर्दैछन् । तर २०३० को विश्वकपमा सुरुका तीन खेलहरू उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा हुने छ ।

– बिबिसी