

काठमाडौँ, असार २४ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिरहाका एक वन अधिकृतलाई घुस रकमसहित पक्राउ गरेको छ।
सव–डिभिजन वन कार्यालय बन्दीपुर, सिरहाका कार्यालय प्रमुख (अधिकृत आठौँ) राम केवल राय यादवलाई सेवाग्राहीबाट १२ हजार रुपियाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार उद्योगका लागि ल्याइएको काठ सिलबन्दी अनुसार भए–नभएको रुजु गरी कागजातसहितको फाइल फिर्ता गर्ने क्रममा यादवले सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा टोली परिचालन गरिएको थियो।
अख्तियारको टोलीले यादवलाई सिरहाको कर्जन्हा नगरपालिका–४ मिर्चैयाबाट बन्दीपुर जाने महेन्द्र राजमार्गमा नियन्त्रणमा लिएको हो। यादवको साथबाट घुसबापत लिएको १२ हजार रुपियाँसहित स्रोत नखुलेको एक लाख ३३ हजार १२० रुपियाँ गरी जम्मा एक लाख ४५ हजार १२० रुपियाँ र एक थान मोबाइल बरामद गरिएको अख्तियारले जनाएको छ।
पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
























