07/08/2026, 07:56:59
बुधबार, असार २४, २०८३
फिफा विश्वकप फुटबल २०२६

कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै स्वीट्जरल्यान्ड क्वार्टरफाइनलमा

निर्धारित र अतिरिक्त समयमा गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा ४–३ को नतिजा निकाल्दै स्वीट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश।


काठमाडौँ, असार २४ गते । कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा बुधबार भएको रोमान्चक खेलमा स्वीट्जरल्यान्डले पेनाल्टी सुटआउटमा कोलम्बियालाई ४–३ ले हराउँदै अन्तिम आठको यात्रा तय गरेको हो ।

निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । स्वीट्जरल्यान्डको जितमा ग्रानिट जाका, जेकी आम्दोनी, सेड्रिक इटेन र रुबेन वर्गासले पेनाल्टीलाई गोलमा परिणत गर्नुभयो । टोलीका म्यानुअल अकांजीको प्रहार भने बाहिरिएको थियो ।

त्यस्तै, पराजित टोली कोलम्बियाका लागि जुआन क्विन्टेरो, जामिन्टन क्याम्पाज र लुइस डियाजले मात्र गोल गर्न सक्नुभयो । कोलम्बियाका डेभिन्सन सान्चेज र कुचो हर्नान्डेजको प्रहार बाहिरिएपछि टोली प्रतियोगिताबाट बाहिरिन पुग्यो । यस खेलको नतिजासँगै विश्वकप २०२६ को अन्तिम १६ का सबै खेलहरू समाप्त भएका छन् ।