07/07/2026, 09:09:24
मङ्गलबार, असार २३, २०८३

प्रि-क्वाटरफाइनलमा आज अर्जेन्टिना र इजिप्टको परीक्षा


एट्लान्टा, असार २३ गते । अर्जेन्टिना र इजिप्टले मङ्गलबार राति प्रिक्वाटरफाइनलमा एकअर्कासँग खेल्दै छन् । यी दुवै टिमले यो खेलअघि थकान हटाउने कम समय मात्र पाएका छन् ।

अन्तिम ३२ मा दुवै टिमले अतिरिक्त समय खेल्नु परेको थियो । उपाधि रक्षा अभियानमा रहेको अर्जेन्टिनाले अतिरिक्त समयमा शनिबार नवप्रवेशी केप भेर्डेलाई ३–२ ले पराजित गरेको हो । इजिप्टले अस्ट्रेलियासँगको खेलमा १२० मिनेट खेलेपछि पनि स्कोर १–१ ले बराबर हुँदा पेनाल्टी सुटआउटमा जित हात पारेको थियो । यी दुवै खेलमा अर्जेन्टिना र इजिप्टको प्रदर्शनलाई लिएर केही प्रश्न पनि खडा भयो । विशेषत अर्जेन्टिना पहिलो पटक केही धर्मराएको देखिएको थियो ।

समूह चरण सहजै पार गरेपछि लियोनेल स्कालोनीको टिम पहिलो पटक विश्वकप खेल्दै गरेको केप भेर्डेसँग सङ्घर्षरत बनेको थियो । केप भेर्डेविरुद्धको प्रदर्शन अर्जेन्टिनाको एक खराब दिन थियो वा अर्जेन्टिनाले आफ्नो कमजोरीको प्रमाण दिएको हो भन्नेमा पनि बहस सुरु भएको छ ।

अर्जेन्टिनाका पूर्वस्ट्राइकर सर्जियो अग्वेरोले इजिप्टसँगको खेलअघि चिन्ता व्यक्त गर्नुभएको छ । “मात्र चार दिनको विश्राम छ । त्यसमा पनि भ्रमण गर्नु पर्छ, खेलाडी दुरुस्त छैनन् र यस्तो अवस्थामा इजिप्टविरुद्ध प्रिक्वाटरफाइनल खेल्नु परेको छ । इजिप्ट शारीरिक रूपमा निकै बलियो टिम हो । अझ आक्रमणमा केप भेर्डेभन्दा इजिप्ट राम्रो छ,” उहाँको भनाइ छ ।

यस विश्वकपमा सात गोल गरिसकेका लियोनेल मेसीले पनि केप भेर्डेसँगको खेलपछि आफू थकित भएको मात्र होइन, विपक्षीको ‘फिनिसिङ थर्ड’ मा अर्जेन्टिनालाई दबाब बनाउन कठिन भएको स्विकार्नुभएको थियो ।

मोहम्मद सलाहको टिम इजिप्ट भने अर्जेन्टिनालाई केप भेर्डेले समस्यामा पारेकोलाई प्रेरणाका रूपमा लिएर खेल्ने छ । यस विश्वकपमा इजिप्ट डिफेन्सिभ खेलमै निर्भर रहेको छ तर सलाह र ओमार मारमाउस जस्ता विश्वस्तरीय खेलाडी अग्रपङ्क्तिमा हुँदा इजिप्ट गोलपोस्ट अगाडि पनि खतरनाक छ । अर्जेन्टिनाविरुद्ध खेल्दा सलाहको फिटनेस इजिप्टका लागि ध्यान दिनुपर्ने विषय हुने छ । अस्ट्रेलियाविरुद्धको खेलमा सलाहको मांसपेशीमा खिचाव उत्पन्न भएको थियो ।

स्विट्जरल्यान्ड–कोलम्बिया

स्विट्जरल्यान्डले मङ्गबार राति क्वाटरफाइनलमा स्थान बनाउन कोलम्बियासँग खेल्दै छ । अन्तिम ३२ मा अल्जेरियाविरुद्ध २–­० ले हात पारेको नतिजा विश्वकप नकआउटमा स्विट्जरल्यान्डको पहिलो जित भएको छ ।

स्विट्जरल्यान्डले प्रिक्वाटरफाइनल खेल्दा रङ्गशालामा कोलम्बियाका दर्शकको पनि सामना गर्नुपर्ने हुन्छ तर स्विट्जरल्यान्डका मिडफिल्डर आर्डन जासरीका अनुसार यसका लागि स्विट्जरल्यान्ड तयार छ । “क्यानाडाविरुद्ध खेल्दा पनि ९० प्रतिशत दर्शक हाम्रो पक्षमा थिएनन् तर हामीले २–१ ले जित प्राप्त ग¥यौँ । हामीलाई थाहा छ कोलम्बियाविरुद्ध पनि त्यही चुनौतीबिच जित प्राप्त गर्नुपर्ने छ,” उहाँले भन्नुभयो ।

लगातार छैटौँ पटक विश्वकप खेलिरहेको स्विट्जरल्यान्डका लागि अन्तिम १६ सधैँ बाधकका रूपमा रहिआएको छ । सन् २००६, २०१४, २०१८ र २०२२ मा यही चरणमा स्विट्जरल्यान्ड बिदा भएको थियो । एजेन्सी