06/25/2026, 08:58:21
बिहिबार, असार ११, २०८३
फिफा विश्वकप फुटबल २०२६

ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश


काठमाठौँ, असार ११ गते । ब्राजिल र मोरक्को फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरणमा प्रवेश गरेका छन्। समूह ‘सी’ अन्तर्गतका खेलहरूमा आ-आफ्नो प्रतिद्वन्द्वीलाई पराजित गर्दै यी दुई टोली अघिल्लो चरणमा पुग्न सफल भएका हुन्।

मियामी स्टेडियममा आज भएको खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३–० को सहज जित निकाल्यो। जितसँगै तीन खेलबाट ७ अङ्क जोड्दै ब्राजिल समूह विजेताको रूपमा नकआउट चरणमा प्रवेश गरेको हो।

ब्राजिलको जितमा स्टार फरवार्ड भिनिसियस जुनियरले दुई गोल गरे भने मथेउस कुन्हाले एक गोल थपे। भिनिसियसले खेलको ७औँ मिनेटमै गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफको अतिरिक्त समय (इन्जुरी टाइम) मा व्यक्तिगत दोस्रो गोल गर्दै उनले टोलीको अग्रता दोब्बर बनाए। खेलको ६०औँ मिनेटमा मथेउस कुन्हाले गोल गरेपछि ब्राजिल ३–० ले विजयी भयो।

मोरक्को पनि नकआउट चरणमा

समूह ‘सी’ बाटै समान ७ अङ्क जोडेको मोरक्को हेड-टु-हेडका आधारमा उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ। एटलान्टा स्टेडियममा आजै भएको रोमाञ्चक खेलमा मोरक्कोले हाइटीलाई ४–२ गोल अन्तरले पराजित गर्‍यो।

यस समूहबाट लगातार पराजय भोग्दै स्कटल्यान्ड र हाइटी भने विश्वकपको दौडबाट बाहिरिएका छन्।