06/18/2026, 08:51:51
बिहिबार, असार ०४, २०८३

मेसीको जादुमय ह्याट्रिक: अर्जेन्टिनाद्वारा अल्जेरिया ३–० ले पराजित, क्लोजको कीर्तिमानसमेत बराबरी

३८ वर्षीय कप्तान लियोनेल मेसीले आफ्नो खेल जीवनको ६१ औँ र विश्वकप इतिहासकै पहिलो ह्याट्रिक पूरा गर्दै अर्जेन्टिनालाई अल्जेरियाविरुद्ध ३–० को सानदार जित दिलाएका छन्। यससँगै मेसीले विश्वकपमा सर्वाधिक १६ गोल गर्ने जर्मनीका मिरोस्लाभ क्लोजको कीर्तिमान समेत बराबरी गरेका छन्।


न्युयोर्क, असार ४ गते । लियोनेल मेसीले कीर्तिमान आफ्नो छैटौँ विश्वकपको सुरुवात ह्याट्रिकसहित गर्नुभएको छ । मेसीले बुधबार अल्जेरियाविरुद्धको खेलमा तीन गोल गरेर विश्वकपका सर्वाधिक गोलकर्ता मिरोस्लाभ क्लोजको बराबरी गर्नुभएको हो । यी दुवै खेलाडीले विश्वकपमा कुल १६–१६ गोल गर्नुभएको छ ।

मेसीको ह्याट्रिकमा उपाधि रक्षा अभियानमा रहेको अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले हराएर विजयी सुरुवात गर्‍यो । अमेरिकाको कान्सास सिटीमा रहेको एरोहेड रङ्गशालामा उपस्थित ६९,०४५ दर्शक सामु ३८ वर्षीय मेसीले आफ्नो २०० औँ अन्तर्राष्ट्रिय खेललाई विशेष बनाउनुभयो । समूह ‘जे’ अन्तर्गत भएको खेलमा अल्जेरियाविरुद्ध खेल्दै मेसी छ विश्वकप खेल्ने पहिलो खेलाडी पनि बन्नुभयो ।

किशोर उमेरदेखि छैटौँ विश्वकपको यात्रा

सन् २००६ मा किशोर उमेरमा हुँदा मेसीले जर्मनीमा पहिलो विश्वकप खेल्नुभएको थियो । १८ वर्षको उमेरमा मेसीले सर्बिया मोन्टेनेग्रोबिच खेलेर विश्वकपमा पदार्पण गर्नुभएको हो । उहाँले सो खेलमा गोल पनि गर्नुभयो ।

मेसी सन् २०१० मा भएको विश्वकपमा भने गोलविहीन हुनुभयो तर त्यसपछि उहाँले:

  • सन् २०१४ को संस्करण: ४ गोल
  • सन् २०१८ को संस्करण: १ गोल
  • पछिल्लो संस्करण (कतार): ७ गोल

२० वर्षपछि मेसीले विश्वकपको सबभन्दा ठुलो फुटबल मञ्चमा पहिलो ह्याट्रिक गर्नुभएको छ, जुन यस विश्वकपको पहिलो ह्याट्रिक पनि भएको छ । मेसीको खेल जीवनको भने यो ६१ औँ ह्याट्रिक हो । अर्जेन्टिनाको जर्सीमा मात्र उहाँले ११ ह्याट्रिक गर्नुभएको छ ।

खेलको रोमाञ्चक मोड र कीर्तिमान

खेलको १७ औँ मिनेटमा डिबक्सबाहिरबाट घुमाउरो प्रहारमार्फत मेसीले विश्वकपमा आफ्नो १४ औँ गोल गरी गर्ड मुलर र किलियन एम्बापेको बराबरी गर्नुभएको थियो । खेलको ६0 औँ मिनेटमा रिबाउन्डमा अर्को गोल गरेर मेसीले ब्राजिलका रोनाल्डोले विश्वकपमा गरेको १५ गोलको कोसेढुङ्गा छुनुभयो । एलेक्सिस म्याक एलिस्टरको प्रहारलाई अल्जेरियाका गोलरक्षक लुका जिदानले राम्रोसँग क्लियर गर्न नसकेपछि फर्केर आएको बललाई मेसीले गोलपोस्टमा छिराउनुभएको हो ।

त्यसपछि ७६ औँ मिनेटमा मेसीले डिबक्सको लाइनबाट सटिक प्रहारमार्फत ह्याट्रिकको गौरव हासिल गरी क्लोजको समकक्षमा पुग्नुभयो । मेसी अब यस विश्वकपमै सर्वाधिक गोलकर्ता बन्ने सम्भावना प्रबल भएको छ । चार वर्षअघि कतारमा भएको विश्वकपको फाइनलमा फ्रान्सलाई टाइब्रेकरमा हराएर अर्जेन्टिना च्याम्पियन बन्दा मेसीले दुई गोल गर्नुभएको थियो ।

“गोलपछि मेरो आँखामा आँसु थियो” – मेसी

यस विश्वकपअघि मेसीको फर्मलाई लिएर सबै चिन्तामा थिए । अझ विश्वकपअघि मांसपेशीमा खिचावको चोट बेहोरेपछि मात्र होइन, ढल्किँदो उमेरका कारण पनि यस विश्वकपमा मेसीले पहिले जस्तो खेल देखाउँछ भन्नेमा धेरै विश्वस्त थिएनन् । यी सबैलाई जवाफ दिँदै मेसीले अल्जेरियाविरुद्धको खेलमा एकल प्रदर्शन नै देखाउनुभयो ।

पहिलो गोलपछि मेरो आँखामा आँसु थियो किनभने यसअघि म केही कठिन समयबाट गुज्रिरहेको थिएँ । यद्यपि यो फुटबलसँग सम्बन्धित छैन । त्यसैले गोलपछि म भावुक बनेँ । मलाई सहयोग गरेकोमा म मेरा साथी, खेलाडी, कोचिङ स्टाफ र सम्पूर्ण टिमलाई धन्यवाद दिन चाहन्छु । यो मेरो छैटौँ विश्वकप हो । मलाई लाग्छ म अहिले पनि उत्कृष्ट फुटबल खेल्न सक्छु । म भाग्यमानी पनि छु, मेरो प्रदर्शन राम्रो भइरहेको छ र आज मैले आफ्नो देशलाई एउटा कठिन जित दिलाउन सफल भएँ ।” – लियोनेल मेसी

विश्वकपका सर्वाधिक गोलकर्ताहरूको सूची

खेलाडीको नाम (देश)कुल गोल संख्या
लियोनेल मेस्सी (अर्जेन्टिना)१६
मिरोस्लाभ क्लोज (जर्मनी)१६
रोनाल्डो (ब्राजिल)१५
गर्ड मुलर (पश्चिम जर्मनी)१४
किलियान एम्बापे (फ्रान्स)१४
ज्युस्ट फन्टेन (फ्रान्स)१३
पेले (ब्राजिल)१२
युर्गेन क्लिन्स्मान (जर्मनी)११