06/21/2026, 13:48:57
आइतबार, असार ०७, २०८३

अमेरिका–इरान सम्झौताप्रति इजरायली नेताहरूको व्यापक आलोचना


इजरायली राजनीतिक दलका नेता तथा प्रभावशाली व्यक्तित्वहरूले अमेरिका र इरानबीच भएको सम्झौताप्रति तीव्र आपत्ति जनाएका छन्। यो सम्झौता शुक्रबार हुने बताइएको छ, जसमा लेबनानलगायत सबै मोर्चामा तत्काल युद्धविराम गर्ने सहमति रहेको मध्यस्थकर्ता पाकिस्तान र इरानले जनाएका छन्।

इरानद्वारा समर्थित हिजबुल्लाहविरुद्ध इजरायलले लेबनानमा सैन्य कारबाही जारी राखेको थियो। आइतबार (सम्झौता घोषणा हुनुभन्दा अगाडि) इजरायलले बेरुतमा आक्रमण गरेको थियो।

इजरायलका अतिवादी दक्षिणपन्थी राष्ट्रिय सुरक्षामन्त्री इतामार बेन गभिरले भने, “ट्रम्पको यो सम्झौता हाम्रो लागि बाध्यकारी छैन।” एक्स (पूर्व ट्विटर) मा पोस्ट गर्दै उनले भने, “इजरायल संयुक्त राज्य अमेरिकाको अधीनमा छैन।” उनले यो सम्झौतामा इजरायल साझेदार नभएको र हिजबुल्लाहलाई पूर्ण रूपमा नष्ट नगरेसम्म कुनै पनि सम्झौता अमान्य भएको बताए।

यता, इजरायली वामपन्थी डेमोक्र्याट पार्टीका नेता तथा सेवानिवृत्त सेनाध्यक्ष याइर गोलानले पनि यस्तै धारणा राख्दै भने, “यो सम्झौता इजरायललाई बेवास्ता गरी भएको छ” र “तेहरानको हिंस्रक शासनलाई उद्धारको डोरी दिएको छ।” उनले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको समेत आलोचना गर्दै भने, “उनी कमजोर, बिरामी, एक्लो र प्रभावहीन बनेका छन्।”