06/11/2026, 20:31:16
बिहिबार, जेठ २८, २०८३
आर्थिक २०८३–८४ को नीति तथा कार्यक्रम

मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित


जनकपुरधाम, जेठ २८ गते । मधेश प्रदेशसभाको बिहीबारको बैठकमा मधेश प्रदेश सरकारको अगामी आर्थिक २०८३–८४ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ ।

मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले जेठ १५ गते प्रदेशसभाको वैठकमा प्रस्तुत गर्नुभएको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथिको छलफलको क्रममा उठेका विषयवस्तुलाई मधेश प्रदेश सरकारले समावेश गर्ने विषयमा मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रतिबद्धता व्यक्त गरेपछि आज नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको हो ।

छलफलको क्रममा उठेका विषयवस्तुलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले सहकार्य र समन्वयको सिद्धान्तअनुसार प्रदेश सरकार अगाडि बढने बताउँदै प्रदेशसभा सदस्यहरुले संघीयता सवलीकरणका विषयमा उठाएका विषयवस्तुलाई सरकारले आफना नीति तथा कार्यक्रममा समावेश गर्ने बताउनुभयो ।

उहाँले संघीयतालाई बलगर बनाउने र प्रदेशलाई अधिकार सम्पन्न बनाउने विषयमा संघ सरकारसँग समन्वय गरी अघि बढने र त्यसमा सबै दलको सहयोग आवश्यक रहने बताउनुभयो । आजको वैठकमा मुख्यमन्त्री कृष्णप्रसाद यादवले नीति तथा कार्यक्रम पारित गर्न प्रस्ताव गरेपछि सभामुख रामअशिष यादवले निर्णयार्थ प्रस्तुत गर्दा वैठकमा उपस्थित प्रदेशसभा सदस्यहरुले ध्वनिमतका साथ सहमति जनाएपछि सभामुख यादवले नीति तथा कार्यक्रम सर्वसम्मतीले पारित भएको घोषणा गर्नुभयो ।

मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी दल जसपा नेपाल, जनमत पार्टी, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीका गरी सात जना प्रदेशसभा सदस्यले संशोधन प्रस्ताव दर्ता गराउनुभएको थियो ।

संशोधन प्रस्ताव दर्ता गराएका सात जनामध्ये जसपा नेपालका प्रदेशसभा सदस्य एवम पूर्व मुख्यमन्त्री लालबाबु राउत, नेपाली कम्युनिष्ट पार्टीका प्रमोदकुमार यादव र नेकपा (एमाले) का प्रमोद जयसवालले मुख्यमन्त्रीको सम्बोधनमा आफ्ना विषयवस्तु समेटिएको भन्दै संशोधन प्रस्ताव फिर्ता लिनुभएको थियो ।

प्रदेशसभा सदस्यहरु अनरुद्धकुमार सिंह, शम्भुकुमार साह र संजयकुमार यादवले संशोधन प्रस्ताव फिर्ता नलिएपछि सभामुखले निर्णयार्थ प्रस्तुत गर्दा तीनै जनाको प्रस्ताव बहुमतले अस्वीकृत गरिएको थियो । नेकपा (एमाले) का प्रदेशसभा सदस्य राजकुमार लेखीको संशोधन प्रस्ताव भने बहुमतले पारित भएपछि उक्त प्रस्तावलाई लिखित रुपमै नीति तथा कार्यक्रममा समावेश गरिने बताइएको छ ।

प्रदेशसभा सदस्य लेखीले मधेश प्रदेशमा रहेको प्रादेशिक अस्पतालको सुधार र कोशीटप्पु बन्यजनतु आरक्षको विषयलाई प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश नगरिएको भन्दै संशोधन प्रस्ताव दर्ता गराउनुभएको थियो ।

मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएपछि आजको बैठकमा मधेश प्रदेश सरकारका अर्थमन्त्री युवराज भटट्राईले विनियोजन विधेयकको प्राथमिकता र सिद्धान्त प्रस्तुत गर्दै उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग र लागानीमैत्री वातावरण निर्माण हुने किसिमले बजेट ल्याउन लागेको जानकारी गराउनुभयो ।

उहाँले कृषि र उद्योग क्षेत्रलाई प्राथमिकता दिई अनुउत्पादक क्षेत्रमा बजेट कट्टा गरिएको बताउनुभयो । प्रदेशसभाको बैठक जेठ २९ गते दिउसो १ वजे पुनः बस्नेगरी स्थगित भएको छ ।

– धर्बेन्द्र झा