06/04/2026, 21:24:31
बिहिबार, जेठ २१, २०८३

सप्तरीमा जङ्गली हात्तीको आतङ्क, घर र बालीमा व्यापक क्षति


राजविराज, जेठ २१ गते । सप्तरीको सप्तकोशी नगरपालिका–८, ओद्राहामा जङ्गली हात्तीको आतङ्क बढ्दै जाँदा स्थानीय बासिन्दाको जन-जीवन जोखिममा परेको छ।

करिब २०–२५ वटा हात्तीको समूहले बुधबार राति गाउँमा प्रवेश गरी घर, पसल तथा कृषि बालीमा ठुलो क्षति पुर्‍याएको सप्तरी क्षेत्र १ का प्रतिनिधिसभा सदस्य पुष्पा चौधरीले जानकारी दिनुभयो।

हात्तीको समूहले राति करिब ११ बजेदेखि बिहान ४ बजेसम्म गाउँमा उत्पात मच्चाएको उहाँले हात्तीले हुली चौधरीका दुई वटा घरमा तोडफोड गर्नुका साथै प्रमोद ठाकुरको किराना पसलमा क्षति पुर्‍याएर खाद्यान्न, दाल, चामल तथा गहुँका बोरा समेत नष्ट गरेको बताउनुभयो।

त्यसैगरी भुटाइ चौधरी, सत्यनारायण चौधरी र रामानन्द चौधरीको मकैबालीमा क्षति पुगेको छ भने श्रवण चौधरी, सत्यनारायण चौधरी, सूरज चौधरीलगायत अन्य किसानका आँप बगैँचा तथा बाँसघारीमा समेत हात्तीले नोक्सानी पुर्‍याएको छ।

blog

लगातार जङ्गली हात्तीको आक्रमणबाट किसानहरू त्रसित बनेका छन्। वर्षौंदेखि दोहोरिँदै आएको समस्याका कारण स्थानीयवासीले दीर्घकालीन समाधानको माग गर्दै आएका छन्।

घटनाप्रति दुःख व्यक्त गर्दै प्रतिनिधिसभा सदस्य चौधरीले पीडित किसान तथा प्रभावित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र समस्या समाधानका लागि सरकार तथा सम्बन्धित निकायको गम्भिर ध्यानाकर्षण गराएको बताएको बताउनुभयो । उहाँले स्थानीयवासीको सुरक्षा सुनिश्चित गर्न तथा जङ्गली हात्ती नियन्त्रणका लागि आवश्यक पहल र समन्वयलाई तीव्रता दिइने विश्वास व्यक्त गर्नु भएको छ।

स्थानीयवासीले मानव र वन्यजन्तु द्वन्द्व न्युनीकरणका लागि तत्काल प्रभावकारी कदम चाल्न सम्बन्धित निकायसँग माग गरेका छन्।

– धीरेन्द्रप्रसाद साह