06/04/2026, 23:24:42
बिहिबार, जेठ २१, २०८३

सरकार सुशासन र द्रुत आर्थिक विकासमा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल


काठमाडौँ, जेठ २१ गते । परराष्ट्रमन्त्री शिशिर खनालले सरकार सुशासन र द्रुत आर्थिक विकासका काममा प्रतिबद्ध भएर लागेको बताउनुभएको छ ।

बिहीबार ललितपुरमा आयोजित विकास बहससम्बन्धी कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री खनालले नागरिकमा परिवर्तनप्रतिको आकाङ्क्षालाई सम्बोधन गर्न सम्बद्ध सबै पक्ष मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले मुलुकलाई समृद्ध बनाउने साझा लक्ष्यमा पुग्न मूर्त र दिगो विकास साझेदारीका प्रयासलाई अघि बढाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । अन्तर्राष्ट्रिय विकास साझेदारहरूको संलग्नतामार्फत नेपालको राष्ट्रिय हितलाई अगाडि बढाइने उहाँको भनाइ थियो । विकास साझेदारहरूसँगको साझेदारीलाई सुदृढ पार्न, अन्तर्राष्ट्रिय सहयोग परिचालन गर्न तथा क्षेत्रीय र बहुपक्षीय मञ्चहरूमा नेपालको आवाज र प्राथमिकतालाई प्रभावकारी रूपमा प्रतिनिधित्व गराउन सरकार लागिपरेको मन्त्री खनालले स्पष्ट पार्नुभयो ।

मन्त्री खनालले भन्नुभयो, “हाम्रा नागरिकका अपेक्षाहरू फेरिएका छन्, ती आकाङ्क्षा पूरा गर्न परम्परागत शैलीभन्दा बाहिर निस्केर काम गर्नु आवश्यक छ । सरकार एआइएनसँग नयाँ ऊर्जाका साथ सहकार्य गर्दै समृद्धिको साझा लक्ष्य प्राप्त गर्न तयार छ ।

मन्त्री खनालले स्थानीय सरकारलाई बलियो बनाएर मात्र सामाजिक सङ्घसंस्थाहरूको कामलाई प्रभावकारी बनाउन सकिने स्पष्ट पार्नुभयो । उहाँले मुलुकको दिगो शान्ति, विकास र समृद्धिलाई अगाडि बढाउने राष्ट्रिय प्रयासलाई सार्थक बनाउने गरी विकास साझेदार संस्थाहरूले काम गर्नुपर्ने बताउनुभयो ।