परासी, जेठ २१ गते । महेन्द्र राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडक खण्ड विस्तारको काम अन्तिम चरणमा पुगेको छ । सडक विस्तार आयोजनाका अनुसार अहिलेसम्म ९२ प्रतिशत काम सकिएको छ । आयोजनाअन्तर्गत पूर्वी र पश्चिम खण्डमा अहिले विस्तारको काम सकिन लागेको हो ।
पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण पूरा भएको छ । पश्चिम खण्डअन्तर्गत दाउन्नेमा एउटा कल्भर्ट निर्माण गर्न बाँकी छ । सडक विस्तार आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार पूर्वी खण्डमा ९२ प्रतिशत काम सकिएको छ । अहिले सडक सुरक्षाका काम धमाधम भइरहेको खनालले बताए । कालोपत्र र ढलान पूरा भएको सडकमा अहिले ट्राफिक चिह्न राख्ने, रोड मार्किङ गर्ने काम भइरहेको छ ।
सबैभन्दा बढी यात्रुले सास्ती भोग्नुपर्ने दाउन्ने खण्ड सहज भएसँगै यात्रुले लामो जाममा बस्नुपर्ने बाध्यता हटेको छ । दाउन्ने बाहेकका स्थानमा सडक कालोपत्र गर्ने, सडक पेटी बनाउने र डिभाइडर राख्ने काम भइरहेको छ । पूर्वी खण्डको साउन ७ र पश्चिम खण्डको साउन ५ गते म्याद सकिँदै छ ।
भौतिक पूर्वाधार निर्माणको काम थप भएको म्यादभित्र पूरा गर्ने लक्ष्य आयोजनाले राखेको छ । तर, सडक सुरक्षा लगायतका प्राविधिक कामका लागि भने थप केही महिना लाग्ने र सोही अनुसारको तयारीमा आयोजना लागेको छ ।
२०७५ चैतबाट काम सुरु भएर ४४ महिनामा सम्पन्न गर्ने गरी चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले दुई खण्डको १ सय १४ किलोमिटर सडक विस्तारका लागि १७ अर्बमा ठेक्का लिएको थियो ।
– नवीन पौडल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











































