06/03/2026, 21:08:34
बुधबार, जेठ २०, २०८३
सेप अफ मोमो

फरक अभिनयको भोक, ‘सेप अफ मोमो’ ले दिएको तृप्ति


काठमाडौँ, जेठ २० गते । तपाईं कुनै मोमो पसलमा नियमित जानुहुन्छ ? यदि जानुहुन्छ भने एउटा प्रश्न– तपाईंको पहिलो रोजाइमा मोमोको आकार पर्छ कि स्वाद ?

सिक्किमकी नेपालीभाषी निर्देशक त्रिवेणी राई निर्देशित फिल्म ‘सेप अफ मोमो’ कि पात्र विष्णुको जवाफ छ– स्वाद । परिवारमा अरु सदस्यको तुलनामा विष्णु मोमोको निर्धारित आकार कहिल्यै मिलाउन जान्दिनन् । त्यसकारण व्यंग्यसहितको आशय बहिनी र आमा प्रकट गरिरहन्छन्, ‘यस्तो नमिलेको आकारको पनि मोमो हुन्छ ?’ तर, विष्णुको अडानले भन्छ, ‘स्वाद सही भए पुगिहाल्छ नि, साइजले के फरक पार्छ र ?

२०२४ को जनवरीमा सुटिङ भएको यो फिल्मको नाम पहिले त ‘छोराजस्तै’ थियो । पछि सुटिङको दौरान ‘हाउस फुल अफ वुमेन’ भयो । सम्पादनको क्रममा बल्ल नामले निश्चित आकार लियो– ‘सेप अफ मोमो’ । यसको अर्थ फिल्मको कथाजत्तिकै अर्थपूर्ण छ ।

समाजले महिलाहरूका लागि तय गरिदिएको निश्चित आकारमा विष्णु आफूलाई कहिल्यै ढाल्न चाहन्नन् । पितृसत्ताले ग्रसित समाजमा महिलाहरूले आफ्नो अस्तित्वको लागि गर्ने लडाइँ कम चुनौतीपूर्ण छैन । समाजको मान्यतालाई स्वीकारेर बस्नुको विकल्प नभेट्ने महिलाहरूको बीचमा हार्न नचाहने पात्रको कथा सूक्ष्म लेन्सबाट केलाउने फिल्म हो ‘सेप अफ मोमो’ ।

२० भन्दा बढी फेस्टिभलमा सहभागी भएर अवार्ड जितेको फिल्मकी मुख्य पात्र विष्णु हुन्– अभिनेत्त्री गौमाया गुरुङ । उसो त उनले नेपाली फिल्ममा गरेको भूमिका र पाएको स्पेसभन्दा फरक र फराकिलो छ ‘सेप अफ मोमो’ ।

गौमायाले यसअघि ‘कबड्डी ४ : द फाइनल म्याच’, ‘राजागञ्ज’, ‘अभिमन्यु:च्याप्टर १’, ‘महाजात्रा’, ‘फूलबारी’ लगायतका फिल्ममा अब्बल अभिनय गरेकी थिइन् । उनलाई महिलाको दृष्टिकोणबाट बुनिएको कथामा काम गर्ने चाह मनभित्र थियो । फिल्म निर्देशक प्रतीक गुरुङलाई उनले सुनाएकी पनि थिइन् । उनै प्रतीकले सन् २०२३ तिर गौमायालाई त्रिवेणी राईसँग जोडिदिए । त्रिवेणी नयाँ फिल्म गर्ने तरखरमा थिइन् । गौमायासँग उनी सकारात्मक देखिइन् ।

एक रात गौमायाले त्रिवेणीले पठाएको पटकथा पढ्न थालिन्, ‘पढ्दा म निकै खुसी भएँ । किनकि यो त हाम्रै कथा थियो,’ गौमाया सुनाउँछिन् । त्रिवेणीले त्यसअघि गरेका सर्ट फिल्म पनि हेरिन् गौमायाले । ‘ती फिल्ममा उहाँले स-साना ह्युमर (ठट्टा) हरूलाई जसरी पकड्नुहुन्थ्यो, त्यसले पनि म प्रभावित भएँ,’ उनी थप्छिन् ।

यो प्रोजेक्टमा विष्णु चरित्रलाई आत्मसात गर्दै गौमाया भित्रिइन् । गौमायाले आफूसँगै कलाकारद्वय पशुपति राई र जानकी कठायतलाई पनि भित्र्याइन् । तर, पशुपति सुरुमा आमा चरित्रका लागि राजी थिइनन् । पछिल्लो समय उस्तै खालका चरित्र दोहोरिएको भान गरिरहेकी पशुपतिले गौमायाको प्रस्ताव स्वीकार गरिनन् । पशुपतिको त्यतिबेला फिल्म ‘गाउँ आएको बाटो’मा गरेको अभिनयको चर्चा पनि प्रशस्तै भइरहेको थियो ।

गौमायाले पटक पटक भनेपछि अडिसन दिन राजी भइन् । तर, अडिसनमा छनोट भइनन् । ‘मैले उसको मन राख्न मात्र अडिसन गरिदिएको थिएँ । मलाई काम गर्नु थिएन,’ अनामनगरस्थित मण्डला थिएटरको क्याफेमा बसेर ती दिन सम्झिरहेकी पशुपतिले छेउमै रहेकी गौमायातर्फ हेर्दै भनिन् । पशुपतिलाई त्यतिबेला अरुले पनि उही आमाकै भूमिकामा प्रस्ताव गरिरहेका रहेछन् । ‘कलाकार भएपछि सधैँ एउटै कुरा गर्दा फ्रस्ट्रेसन हुँदो रहेछ,’ उनी सुनाउँछिन् ।

उनी केही फरक खोजिरहेकी थिइन् । तर, छनोट नहुन दिएको अडिसनले उनलाई पिछा छोडेन । दोस्रो पटकको अडिसनमा पशुपतिलाई एउटा सिन दिइएको थियो । त्यो आमाछोरीको बीचको झगडाको सिन थियो । त्यो सिनको अन्तर्यमा पुग्दा पशुपति यो कथासँग लोभिन थालिसकेकी थिइन् । ‘जब पूरै कथा पढेँ, यो मैले गरिरहेको क्यारेक्टर हैन, बरु गर्न चाहिरहेको फरक चरित्र थियो,’ पशुपति भन्छिन् । पढ्ने क्रममा कतिपय सिनहरू यति स्वभाविक लागे कि उनलाई आफ्नै घरको डकुमेन्ट्री जस्तो महसुस भयो । ‘हाम्रो सिनेमामा प्रायः नआउने, तर घरभित्र रमाइलो हुने रोचक कुराहरूले मलाई निकै हँसाए पनि,’ पशुपति भन्छिन् ।

कस्ट्युम डिजाइनरका रुपमा प्रोजेक्टमा भित्रिएकी जानकी कठायतलाई फिल्म ‘राजागञ्ज’ देखि अभिनयको रस पसेको थियो । ‘राजागञ्ज’ कै सुटिङमा गौमायासँग उनको निकटता बढेको थियो । ‘सेप अफ मोमो’का लागि निर्देशक त्रिवेणीलाई कस्ट्युम डिजाइनर चाहिएको थियो । गौमायाले जानकी सिफारिस गरिन् । जानकी यसकै लागि सिक्किम पुगिन् । त्यहीबेला गौमायाले जानकीलाई भनिन्, ‘एउटा नेपाली क्यारेक्टर चाहिएको थियो । यसका लागि अडिसन दिनुस् त ।’ उसो त पछिल्लो समय अभिनय गर्न रुचाउने जानकीका लागि यो प्रस्ताव स्वीकार्य थियो । उनले उत्साहका साथ दिइन् । उनले अडिसन दिएको पात्र थिइन्– साइँली । जसको परिवार नेपालको सुदूरपश्चिमबाट सिक्किम पुगेको हुन्छ । साइँलीको चरित्र फिल्ममा अर्थपूर्ण छ । यो चरित्रका लागि जानकीले ‘मेथड एक्टिङ’ पछयाइन् । उनले आफ्नै जीवनसँग यो चरित्र तुलना गरिन् । गरिबी, अभावभित्रको जिम्मेवारी उनको भोगाइसँग नजिक थियो । ‘त्यसमाथि मेरो मेन्टरले मलाई कडा मेहेनत गराउनुभयो । भुइँमै बसेर खानुपर्ने, प्लेटमा मागेरै खानुपर्ने, मेरो चरित्र जे हो त्यही भएर बाँच्नुपर्ने,’ उनी ती क्षण सम्झन्छिन् ।

जानकीको चुनौती अभिनयमा मात्र हैन, कस्ट्युम डिजाइनमा पनि थियो । रङहरूले कसरी कथा भन्छन् ? ‘फिल्ममा विष्णुको रातो रङको आक्रोशदेखि प्रकृतिको हरियोसम्मको ट्रान्जेक्सन लुगामार्फत देखाउनुपर्ने थियो,’ उनी भन्छिन् । सँगै उनले मेकअप आर्टिस्टको पनि जिम्मेवारी सम्हालिन् । फिल्म रिलिज भइसकेपछि जानकीले पहिलो पटक गत २७ जुनमा किम्फको उद्घाटनमा हेरिन् । साइँलीको काम मन पराएका दर्शकहरूले दिएको प्रतिक्रियाले उनलाई थप भावुक र जिम्मेवार बनायो । ‘मलाई चिन्नुहुने कतिले त साइँलीको क्यारेक्टर मैले नै गरेको भनेर चिन्नु नै भएन,’ जानकी सुनाउँछिन् ।

गौमायासँग भने विष्णुको विद्रोही स्वभाव पहिल्यैदेखि थियो । सुटिङका बखत उनले अनुभूत गरिन् । यो कथाले निर्देशक त्रिवेणीको जीवनसँग सम्बन्ध राख्छ । त्यसमाथि सिक्किमस्थित उनकै घरमा सुटिङ गरिएको थियो । ‘हामी कथासँग यति नजिक भयौँ कि मेथड एक्टिङकै प्रोसेसमा छौँ जस्तो लाग्यो,’ गौमाया सुनाउँछिन् ।

पशुपति र गौमायालाई सिक्किमेली टोनको चुनौती थियो । जानकी भने सुदूरपश्चिमकै भएकाले उनको टोन पात्रका लागि उपयुक्त थियो । ‘मेरो टोनचाहिँ अलि कडा थियो । मेन्टर दिनकर शर्माले मलाई ‘लोरी’ गाउन लगाउनुभयो । राति चौरमा बसेर तारा हेर्दै लोरी गाउँदा मेरो बडी र स्पिचमा एक प्रकारको कोमलता आयो,’ उनी सुनाउँछिन्, ‘मैले त्रिवेणीकी आमाकै साडी र लुङ्गीहरू लगाएर उहाँको हिँडाइ र बोलाइलाई अब्जर्भ गरेकी थिएँ ।’ गौमायाले पनि टोनका लागि बढी कसरत गर्नुपर्‍यो ।

फिल्मले विभिन्न फेस्टिभलहरूमा सुखद् यात्रा गर्‍यो । विभिन्न देशका दर्शकहरूले पनि यो कथालाई रिलेट गर्न सके । ‘अचम्मको कुरा, स्पेनमा दर्शकहरू रुँदै आएर यो त मेरो कथा हो भन्नुभयो । ह्युमरका कुराहरू ठाउँ अनुसार फरक भए पनि आमा-छोरीको सम्बन्ध र संघर्ष विश्वव्यापी हुँदो रहेछ,’ गौमाया भन्छिन् । फिल्ममा पछि भारतीय फिल्म निर्देशकहरू जोया अख्तर, रीमा काग्ती र पायल कपाडिया पनि निर्माताका रुपमा जोडिइन् । यसले फिल्मको उचाइलाई थप फैलन योगदान गर्‍यो ।

यो फिल्मले जानकीलाई अभिनय करिअरका लागि थप हौसला दियो । सुरुमा गर्नै नचाहनेको पात्रले पशुपतिको अभिनय करिअरमा नयाँ उचाइ दियो । ‘र मैले त गर्न चाहेको सबैभन्दा बलियो चरित्र पाएँ,’ गौमाया थप प्रफुल्लित हुँदै थप्छिन् ।

– समर्पण श्री