

काठमाडौं, ८ साउन – पाकिस्तानको इस्लामावादमा जारी काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले ऐतिहासिक उपलब्धि हासिल गर्दै पहिलो पटक एफआईभिबीको विश्व वरियतामा स्थान बनाएको छ। सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) अन्तर्गत आयोजित यो प्रतियोगितामा ६ राष्ट्रको सहभागिता रहेको छ।
नेपालले आफ्नो पहिलो खेलमा कजाखस्तानसँग ३–२ को सेटमा पराजित भए पनि पाँच सेटसम्म पुगेको प्रतिस्पर्धात्मक खेलले १ अंक जोड्यो। त्यसपछि श्रीलंकाविरुद्ध पनि नेपाल ३–२ ले पराजित भयो। लगातार दुई हार बेहोरे पनि नेपालले वरियतामा ८४औं स्थान हासिल गरेको छ। शुक्रबार नेपालले घरेलु टोली पाकिस्तानको सामना गर्दैछ।
यस प्रतियोगितामार्फत नेपाली पुरुष टोलीले पहिलो पटक एफआईभिबी मान्यता प्राप्त अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको हो। साथै, कजाखस्तानविरुद्ध ६ नयाँ खेलाडी (राजेन्द्र धामी, हिमाल सुनारी, दिपेश कुँवर, सुरज चुनारा, सन्तोष विक, सरोज बर्देवा) ले सिनियर टिममा डेब्यु गरेका छन्।
नेपाल भलिबल संघका अनुसार विश्व वरियतामा समावेश हुँदा एसियन गेम्स, एभिसी कप, ओलम्पिक छनोटलगायत अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिताको बाटो खुलेको छ। यसले नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय अनुभव, प्रायोजन र व्यावसायिक लिगमा सम्झौताका अवसरहरू पनि सिर्जना गर्नेछ।
हाल नेपालको महिला टोली ६८औं स्थानमा रहेको छ भने पुरुष टोली ८४औं स्थानमा छ। प्रतियोगिताको सेमिफाइनल जुलाई २८ र फाइनल जुलाई २९ मा हुनेछ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






























