

काठमाडौँ, साउन ९ गते । काठमाडौँ महानगरपालिकाले महाबौद्धस्थित राष्ट्रिय ट्रमा सेन्टरलाई ८० लाख रुपियाँ बराबरको इम्प्लान्ट तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। विपन्न, असहाय तथा बेवारिसे बिरामीको उपचारमा सहयोग पुर्याउने उद्देश्यले महानगरले उक्त सामग्री उपलब्ध गराएको हो।
सामग्री हस्तान्तरण गर्दै काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले गम्भीर अवस्थाका बिरामीलाई समयमै उपचार उपलब्ध गराउनु सबैभन्दा ठुलो मानवीय दायित्व भएको बताउनुभयो। आर्थिक अभावका कारण कोही पनि उपचारबाट वञ्चित हुन नपरोस् भनेर सहयोग गरिएको उहाँको भनाइ थियो।
ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रप्रसाद मरासिनीले महँगो इम्प्लान्टका कारण समस्यामा परेका विपन्न बिरामीका लागि यो सहयोगले ठुलो राहत पुग्ने बताउनुभयो। महानगरले उपलब्ध गराएका सामग्री शतप्रतिशत विपन्न बिरामीकै उपचारमा प्रयोग गरिने उहाँले जानकारी दिनुभयो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




























