07/16/2026, 21:44:53
बिहिबार, असार ३२, २०८३

चलचित्र ‘मास्टर्नी’का लागि प्रियंकालाई दुर्गेशको गीत उपहार


काठमाडौँ, असार ३२ गते । अभिनेत्री प्रियंका कार्कीले पहिलो पटक निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसनका लागि गायक दुर्गेश थापाले गीत तयार गरेका छन्। प्रियंका र गायक दुर्गेशबीच सुमधुर सम्बन्ध छ। चर्चित गीत ‘दुश्मन हेरेको हेर्‍यै’पछि उनीहरू एकअर्कासँग अझ नजिक भएका हुन्। उनीहरूको सम्बन्ध यति मजबुत बनेको छ कि प्रियंकालाई दुर्गेशले एउटा गीत नै उपहार स्वरूप दिएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको पहिलो गीत सार्वजनिक गरियो। गीतमा दुर्गेश थापाको शब्द, संगीत तथा स्वर रहेको छ भने उनलाई गायनमा बबिना किरातीले साथ दिएकी छन्। गीतको भिडियोमा दुर्गेशसहित प्रियंका कार्की, आयुष्मान देशराज जोशी र आर्यन सिग्देल देखिएका छन्। गीतको भिडियोमा प्रदीप लामाको कोरियोग्राफी रहेको छ।

“यो पैसाबिनाको साटासाट हो” : प्रियंका कार्की
अभिनेत्री प्रियंका कार्कीका अनुसार दुर्गेशले अडियो र भिडियो दुवै आफ्नै खर्चमा तयार पारेका हुन्। उनले भनिन्:

सिनेमाको यो गीत दुर्गेशजीले मलाई कोसेली स्वरूप दिनुभएको हो। यो पैसाबिनाको साटासाट हो। अडियो र भिडियो दुवै उहाँ आफैंले तयार गर्नुभएको हो। सिनेमाको देशव्यापी कन्टर्समा पनि उहाँ आउँदै हुनुहुन्छ। त्यसमा पनि पैसा लिनुभएको छैन्। यो मेरो लागि ठूलो कुरा हो।

भदौ ५ बाट प्रदर्शनमा आउँदै

आगामी भदौ ५ गतेबाट देशव्यापी प्रदर्शनमा आउने यस सिनेमामा प्रियंका कार्की, सरोज खनाल, गौरी मल्ल, आर्यन सिग्देल, विशाल पहारी, प्रमोद अग्रहरी, सिम्रन खड्का, अनुप विक्रम शाही लगायतका कलाकारको अभिनय रहेको छ।

शुभेन्द्र घोषको निर्देशनमा निर्माण भएको सिनेमालाई प्रियंका कार्की, क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी र प्रनित कार्कीले निर्माण गरेका हुन्। यो सिनेमाको कार्यकारी निर्मातामा निर्देशक सिमोस सुनुवार र सुरक्षा सिंह मल्होत्रा छन्।