06/03/2026, 21:58:09
बुधबार, जेठ २०, २०८३

सप्तरीमा गर्मीको कहर, बढ्यो अस्पतालमा बिरामीको चाप


भारदह(सप्तरी), जेठ २० गते । सप्तरीमा एक सातायता बढेको अत्यधिक गर्मीको कारण जनजीवन कष्टकर बनेको छ । सँधै भिडभाड रहने राजविराज बजारमा सर्वसाधारणको आवतजावत पातलिएको छ । बिहानैदेखि चर्को घाम र तातो हावा चल्न थालेपछि सर्वसाधारणको दैनिकीमा समेत असर पर्न थालेको छ ।

गर्मीकै कारण सर्वसाधारणमा टाउको दुख्ने, रिङ्गटा लाग्ने, उच्च ज्वरो आउने, बान्ता हुने, डाइरिया, रूघाखोकीको लक्षण देखिन थालेपछि अस्पतालमा पनि बिरामीको चाप बढेको गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षका इन्चार्ज डा. जितेन्द्र कडेलले जानकारी दिनुभयो ।

दुई दिन यता अस्पताल ज्वरो, झाडापखाला, सर्प दंशका बिरामी बढेपछि २४ घण्टा भित्र ७९ जनाको आकस्मिक कक्षमा उपचार गरेको उहाँले बताउनुभयो ।

सधैं भिडभाड हुने यश अस्पतालमा गर्मी बढेपछि बिरामीको चाप अत्यधिक बढेको छ । एक हप्ता यता अस्पतालमा बिरामीको सङ्ख्या अत्यधिक बढेपनि दुई दिन यता थेग्नै कठिनाइ भइरहेको उहाँले बताउनुभयो । विरामीका चापका कारण उपचारमा समस्या भोग्नुपरेको छ भने अस्पतालमा बेडकोअभाव भएपछि बिरामीहरूले भुइँमै बसेर उपचार गराउन बाध्य हुनुपरेको छ ।

बिरामीको चाप बढेसँगै अस्पतालमा पर्याप्त शय्या तथा व्यवस्थापन गर्न कठिनाइ भएको स्थानीयले बताउनुभयो । अस्पतालमा उपचारका लागि आएका बिरामी तथा आफन्तहरूले अस्पतालबाट पाउनुपर्ने आधारभूत सुविधा समेत सहज रूपमा नपाएको बिरामीका आफन्त दिलिप चौधरीले बताउनुभयो ।

गर्मीका कारण सर्वसाधारणको दैनिकी काममा जान समस्या खेप्नुपरेको छ भने बाहिर हिँड्डुल गर्न सकेका छैनन् । बिहानै देखि चर्को घाम लागेर तातो हावा चल्न थालेपछि ४० डिग्रीसम्म गर्मी भएपछि सर्वसाधारणलाई दिन काट्नै समस्या भएको स्थानीय रमेश यादवले बताउनुभयो ।

चर्को घाम र गर्मीका कारण जिल्लाको सामुदायिक तथा नीजी विद्यालयहरूको बिहानी कक्षा सुरु भएको छ । अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कने अवस्था नरहेको राजविराज ५ कि विजेता देवले बताउनुभयो । अहिले सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीहरूको न्यून उपस्थिति हुँदै आएको स्थानीयको भनाइ रहेको छ ।

दिनदिनै मजदुरी गरेर छाक टार्ने मजदुरहरूले घाममा मजदुरी गरेर खाने अवस्था नरहेको मजदुुरी गरेर जिविकोपार्जन गर्दै आउनुभएका ७० वर्षीय सुला यादवले बताउनुभयो ।

– सुधा देव