

काठमाडौँ, जेठ १९ गते । वीरगन्जका मेयर राजेशमान सिंहलाई रिहा गर्न पर्सा जिल्ला अदालतले आदेश दिएको छ । जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले मेयर सिंहलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
मेयर सिंहका प्रेस सल्लाहकार नवराज फुयाँलका अनुसार सिंहका तर्फबाट अदालतले मागेबमोजिम ४ लाख १५ हजार रुपैयाँ धरौटी बुझाइएको छ । पर्सा जिल्ला अदालतका तहसिलदार देवराज भट्टराईका अनुसार मेयर सिंहविरुद्ध दुई वटा कसूरमा मुद्दा दर्ता भएको थियो । दस्तखत किर्तेमा ४ लाख र झुटो विवरण पेस गरी नागरिकता बनाएको कसूरमा १५ हजार धरौटीमा माग गरिएको हो ।
उनी लिखतसम्बन्धी कसूर (किर्ते) मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका थिए ।
पर्सा जिल्ला अदालतले गत मंगलबार सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । अदालतको आदेशअनुसार प्रहरीले मंगलबार बिहान ६:१५ बजे पर्साको ठोरीस्थित जंगल रिसोर्टबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले बताए ।
सिंहमाथि नक्कली कागजातका आधारमा अर्काकी छोरीलाई आफ्नै छोरी देखाई नागरिकता तथा अन्य सरकारी कागजात बनाउन सहयोग गरेको आरोप छ । सोही आरोपमा उनीविरुद्ध लिखतसम्बन्धी कसूरअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!







































