काठमाडौँ, जेठ १९ गते । सार्वजनिक कूटनीतिसम्बन्धी अमेरिकी उपविदेशमन्त्री सारा बि रोजर्सले नेपाल सरकारसँग प्रविधि र नवप्रवर्तनको क्षेत्रमा सहकार्य गर्न अमेरिकी सरकार उत्सुक रहेको बताउनुभएको छ । नेपाल भ्रमणमा रहनुभएको साराले सोमबार पत्रकारसँगको अन्तर्क्रियामा भन्नुभयो, “नेपालसँग काम गर्ने सवालमा निकै आशावादी छौँ । त्यसैले नेपालमा अमेरिकाको कम्पनीले काम गर्ने वातावरणका विषयमा विगत दुई दिनदेखि छलफलमा केन्द्रित रह्यौँ ।”
विभिन्न पक्षसँगको छलफल निकै फलदायी रहेको औँल्याउँदै उहाँले नेपालमा प्रविधि प्रवर्धन गर्ने सम्बन्धमा निकै राम्रो सम्भावना रहेको उल्लेख गर्नुभयो । अमेरिकी सरकारको अनुदानमा आधारित एमसिसी परियोजना कार्यान्वयन सन्तोषजनक रहेको बताउँदै उहाँले नेपाल सरकारको तदारुकता सराहनीय रहेको धारणा व्यक्त गर्नुभयो ।
उहाँले यस वर्ष नेपाल र अमेरिकाबिच कूटनीतिक सम्बन्ध स्थापनाको ७९ औँ वर्षगाँठ मनाइरहेको स्मरण गर्दै अर्को वर्ष ८० औँ वर्षगाँठका अवसर पारेर दुईपक्षीय हितसँग सम्बन्धित सहकार्यको दायरा बढ्न सक्ने सम्भावना औँल्याउनुभयो । पत्रकार सम्मेलनमा उहाँले संयुक्त राज्य अमेरिकाले नेपाललाई एक महत्वपूर्ण साझेदारका रूपमा दर्ज गरेको स्पष्ट पार्नुभयो । आफ्नो नेपाल भ्रमणले दुई देशबिच साझेदारी र सहकार्यको सम्भावनालाई अझ बलियो बनाएको उपविदेशमन्त्रीले बताउनुभयो ।
सोमबारै नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेको स्मरण गर्दै उहाँले नेपालसँगको आर्थिक साझेदारीयुक्त सम्बन्ध सुदृढ पार्ने, व्यावसायिक वातावरण सुधार्ने र डिजिटल पहुँच विस्तार गर्ने विषयमा महत्वपूर्ण छलफल भएको जानकारी दिनुभयो ।
एमसिसी सम्झौतामार्फत आजपर्यन्त दुई देशको साझेदारीमार्फत नेपालको अर्थतन्त्र र ऊर्जा विकासमा लगानी एक महत्वपूर्ण पक्ष रहेको उल्लेख गर्दै उहाँले यसले व्यावसायिक क्षेत्रीय सम्पर्क सञ्जालको अवसर सिर्जना गरेको स्मरण गर्नुभयो ।


अभिव्यक्ति स्वतन्त्रताका लागि लड्ने र सामाजिक सञ्जाल सेन्सरसिपविरुद्धमा उभिन सक्ने क्षमता भएको नेपाल जस्तो देशको भ्रमण गर्न पाएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।
नेपालमा सार्वजनिक कूटनीतिमार्फत यहाँको संस्कृति प्रवर्धन, संरक्षणसँगै यहाँका हिमाल संरक्षण, पर्यटन प्रवर्धनमा हातेमालो गरिरहेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि थप सहकार्य कायम रहने प्रस्ट पार्नुभयो । नेपालको पर्वतारोहणको विरासत र अमेरिकी नवप्रवर्तनले पर्वतारोहण अभियानलाई अझ सुरक्षित बनाउन सक्ने उहाँको धारणा थियो । नेपालको साहसिक पर्यटन क्षेत्रको सुदृढीकरण गर्ने सवालमा पनि अध्ययन भइरहेको उहाँले बताउनुभयो । यहाँका प्राचीन सम्पदा संरक्षणमा अमेरिकी सरकारले राजदूत कोषमार्फत सघाइरहेको पनि स्मरण गर्नुभयो ।
उहाँले नेपालमा नवप्रवर्तनमार्फत आर्थिक वृद्धिको ठुलो सम्भावना रहेकाले अमेरिकी कम्पनीहरू त्यो यात्रामा बलियो साझेदार हुन सक्ने सम्भावनाको खोजी भइरहेको उल्लेख गर्नुभयो । उद्यमशीलता, नवप्रवर्तन र जनसम्बन्ध विकासले द्विपक्षीय सहयोग विस्तार गर्नुका साथै नेपालमा अमेरिकी कम्पनी र आर्थिक वृद्धिका लागि अवसर सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो ।
यसैबिच उहाँले सोमबारै परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा नेपाल अमेरिकाबिचको दशकौँ लामो सम्बन्ध थप प्रगाढ बनाउन सहकार्यसँगै नेपालमा व्यापार संस्कृति तथा पर्यटन प्रवर्धनमा लगानीको दायरा बढाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








































