

काठमाडौँ, जेठ ११ गते । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र सेवालाई समयसापेक्ष परिमार्जन गर्दै आर्थिक कूटनीतिमा केन्द्रित गर्नुपर्नेमा जोड दिनुभएको छ । आइतबार परराष्ट्र सेवा दिवसका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मन्त्री खनालले परराष्ट्र मन्त्रालय र वैदेशिक नियोगलाई परिणाममुखी बनाउनुपर्ने बताउनुभएको हो ।
परराष्ट्रमन्त्री खनालले सीमित स्रोत र साधनका बाबजुद राष्ट्रिय सार्वभौमसत्ता र हितको रक्षा गर्न पूर्वप्रशासक एवं कूटनीतिज्ञले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । परराष्ट्र नीति आन्तरिक प्राथमिकताको प्रतिबिम्ब हुनुपर्ने उल्लेख गर्दै उहाँले विश्व भू–राजनीतिमा भइरहेको तीव्र परिवर्तन, जलवायु सङ्कट र प्रविधिको विकासले निम्त्याएका चुनौतीहरूको सामना गर्न कूटनीतिक चातुर्य र रणनीतिक दूरदर्शिता आवश्यक रहेको औँल्याउनुभयो । नेपालले विश्व परिवेशमा हुने परिवर्तनहरूको केवल प्रतिक्रिया मात्र नजनाई, तिनको पूर्वअनुमान गरी राष्ट्रिय हितमा उपयोग गर्नुपर्नेमा उहाँको जोड थियो ।
संस्थागत सुधारको आवश्यकता औँल्याउँदै मन्त्री खनालले परराष्ट्र मन्त्रालयलाई तथ्याङ्कमा आधारित कार्यप्रणालीमा लैजाने र पूर्ण रूपमा योग्यता प्रणाली लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “हाम्रो रणनीतिक ध्यान अब आर्थिक कूटनीतिमा केन्द्रित हुनुपर्छ । वैदेशिक प्रत्यक्ष लगानी, पर्यटन प्रवर्द्धन, प्रविधि हस्तान्तरण र बजार पहुँचका लागि परम्परागत शैलीलाई त्यागेर सक्रिय अन्तर्राष्ट्रिय साझेदारी निर्माण गर्नुपर्ने समय आएको छ,” मन्त्री खनालले भन्नुभयो, “वैदेशिक नियोगहरू अब केवल प्रशासनिक अड्डा मात्र नभई लगानी र प्रविधिका केन्द्र बन्नुपर्छ । नियोगको पदस्थापनलाई केवल अधिकारका रूपमा मात्र नभई कार्यसम्पादनमा आधारित जिम्मेवारीका रूपमा लिइनेछ ।”
परराष्ट्रमन्त्री खनालले परराष्ट्र मन्त्रालयलाई राष्ट्रिय सुरक्षा र समृद्धिको पहिलो घेराका रूपमा स्थापित गर्ने सङ्कल्प गर्दै मन्त्रालयको सेवा प्रवाहलाई प्रविधिमैत्री र झन्झटरहित बनाइने स्पष्ट पार्नुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










































