पेरिस, वैशाख ३१ गते । गत वर्षको कान्स फिल्म फेस्टिभलको ठीक एक दिन अघि, पाल्म डी’ओर रेडको कार्पेटका लागि ड्रेस कोडमा कान्सले कडा तर अप्रीय निर्णय लियो ।
कान्सले विश्वका प्रसिद्ध फिल्मकर्मी, सेलेब्रिटी सम्मिलित हुने प्रतिष्ठित महोत्सवलाई व्यवस्थित र मर्यादित बनाउने ध्येयले रेड कार्पेट र्याम्पमा लगाइने पोसाकमा कडा उर्दी जारी गरेको हो । जसमा पारदर्शी र नग्नता फैलाउने फेसनलाई वर्जित गरिने बताइयो ।
मंगलबारदेखि सुरू यसपटकको कान्समा उक्त नियमलाई त दोहोर्याइएन, तर अघिल्लो वर्षकै उर्दीको असर यसपटकको रेडकार्पेट र्याम्पदेखि फोटोसुटसम्ममा देखियो ।


पछिल्लो समय भाइरल बन्ने लोभमा वा फोटोग्राफरको ध्यान आफूतर्फ तान्ने उद्देश्यले कतिपय सेलेब्रिटीहरू ड्रेसकोडमा खासै ध्यान दिँदैनन् ।
विश्वकै ध्यान खिच्ने कान्स जस्ता प्लाटफर्म उनीहरूका लागि निकै उपयोगी देखिँदै आएपछि कान्सले ड्रेस कोडको नीति लिएको हो । यसपटक कान्सको मुख्य प्रतिस्पर्धा पाल्म डी’ओरका लागि २२ फिल्म रेडकार्पेट प्रीमियरसहित प्रतिस्पर्धामा छन् ।
कान्सको आधिकारिक वेबसाइटमा राखिएको ड्रेस कोडसम्बन्धी नयाँ नियमअनुसार, फेस्टिभलको रेडकार्पेटमा उपस्थित हुनेले नग्नतालाई प्रश्रय दिने फेसन वा र धेरै लत्रिने खालका कपडा लगाउन नपाइने उल्लेख छ । लामो पुच्छरसहितको र ठूलो आकारका पोसाकले रेड कार्पेटमा ‘ट्राफिक’ बढाउनुका साथै हलभित्र सिटमा बस्न समेत समस्या हुने कारण देखाउँदै कान्सले त्यस्ता फेसनमा रोक लगाएको बताएको छ ।


कान्सको पछिल्लो निर्णय ग्रामी र भेट गाला जस्ता कार्यक्रमका रेड कार्पेटमा बढिरहेको नग्नता देखेर पनि हुनसक्ने अनुमान गरिएको छ । जबकि ओस्कर, कान्स जस्ता लामो इतिहास बोकेका प्रतिष्ठित महोत्सव फेसनका लागि भन्दा पनि फिल्मका लागि सुप्रसिद्ध छन् । तर पनि फेसन डिभा वा फेसन व्यवसायीहरू यस्ता प्लेटफर्मलाई मार्केटिङको बलियो हतियार बनाउन उद्यत रहन्छन् । त्यसैले पनि कान्स जति फिल्मका लागि चर्चित छ, त्यति नै यहाँ उपस्थित हुने सेलेब्रिटीका फेसन स्टेटमेन्टका कारण पनि । उनीहरूले फेसनका कारण वाहवाही मात्र बटुलेका छैनन्, विवादित पनि बनेका छन् ।
कतिपय सेलेब्रिटीले भने यस्ता फेसनलाई विद्रोहको रूपमा पनि प्रयोग गर्ने गर्छन् । कान्सको इतिहास पनि नयाँ फेसनको ट्रेन्डसेट गर्नेदेखि विद्रोही वा सेक्सी छवी झल्काउनसमेत रेड कार्पेट फेसन शो कारक बन्दै आएको देखिन्छ । बियान्का जागर, भिक्टोरिया एब्रिल वा पाम एन्डरसन जस्ता चर्चित सेलेब्रिटीले कान्समा दिएको फेसन स्टन्टकै कारण पनि आजका दिनमा रेड कार्पेटले यो तहसम्मको उचाइ बटुलेको हो ।


क्रिस्टन स्टवार्ट र जुलिया रोबर्ट्सले हिल फुकालेर रेड कार्पेटमा नाङ्गो खुट्टा हिँडेका थिए । जबकि कान्सले फ्लाट स्यान्डल वा स्लिपरसमेत लगाएर रेड कार्पेटमा हिँड्न रोक लगाएको छ । उमा थर्मनले पनि ‘नो फ्याट सुज’ को उर्दीलाई अस्वीकार गर्दै गाउनसँग फित्तावाला चप्पल लगाएर उपस्थित भएकी थिइन् ।
केन्डल जेनरले सन् २०१८ मा र बेला हदिदले २०२४ मा निकै पारदर्शी पोसाकमा उपस्थित भएर रेडकार्पेटमा सबैको ध्यान खिचेका थिए भने विवादमा पनि तानिए । जबकि इलोना स्टालरले १९८८ मा टपलेस नै र मिला जोभोभिचले १९९७ मै कान्समा झन्डै ‘टपलेस’ देखिने गरी फेसन शो गरेका थिए । त्यस्तै १९९१ मा नै म्याडोनाले ‘कोन सेप’ का ब्रा लगाएर हंगामा मच्चाएकी थिइन् ।


कतिपयले पोसाकको छनोटलाई विशुद्ध व्यक्तिगत चाहनासँग जोडेर पनि यस्ता नियमको विरोध गर्दै आएका छन् । अन्ततः त्यस्तै विद्रोही नै वर्षभरका लागि चर्चाको शिखरमा आउने गर्छन् ।
कान्समा बढी क्रान्तिकारी देखिने हर्कतलाई नियन्त्रण गर्ने उद्देश्यले युवकका लागि कालो टाई, टक्सिडो वा टेलर्ड सुटलाई औपचारिक पोसाकका रूपमा व्याख्या गरिएको छ भने महिलालाई पनि नाइट गाउन, ककटेल ड्रेस वा काउचर ड्रेस लगाउन भनिएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





































