07/14/2026, 18:04:49
मङ्गलबार, असार ३०, २०८३

कमजोर ओपनिङका बावजुद बक्स अफिसमा ‘मोआना’ पहिलो स्थानमा


लस एन्जलस, असार ३० गते । वाल्ट डिज्नीको बहुप्रतीक्षित लाइभ–एक्सन फिल्म ‘मोआना’ कमजोर सुरुवाती व्यापारका बावजुद पहिलो हप्ता घरेलु (उत्तर अमेरिकी) बक्स अफिसमा पहिलो स्थानमा रहन सफल भएको छ ।

२५ करोड डलरको ठूलो बजेटमा बनेको यस फिल्मले पहिलो सप्ताहान्तमा उत्तर अमेरिकाबाट ४ करोड ३० लाख र विश्वव्यापी रूपमा ९ करोड ५० लाख डलरको ओपनिङ गरेको छ । थोमस केल निर्देशित यस फिल्ममा ड्वेन जोनसन र क्याथरिन लागा‘आया मुख्य भूमिकामा छन् । एनिमेटेड फिल्मको हुबहु नक्कल गरिएको भन्दै समीक्षकहरूले यसलाई कमजोर (रोटन टोमेटोजमा ३४%) रेटिङ दिए पनि दर्शकहरूको प्रतिक्रिया भने सकारात्मक छ ।

बजार विश्लेषकहरूका अनुसार बजारमा ‘पीजी’ सर्टिफिकेट पाएका अन्य फ्यामिली फिल्महरूको बाढी आउनु नै यसको व्यापार सुस्त हुनुको मुख्य कारण हो । यो साता दोस्रो स्थानमा ‘मिनियन्स एन्ड मोन्स्टर्स’ र तेस्रो स्थानमा ‘टोय स्टोरी ५’ रहेका छन् । आर–रेटेड हरर जनराको ‘इभिल डेड बर्न’ ले चौथो स्थानमा रहँदै १ करोड ३७ लाख डलरको ओपनिङ गरेको छ, जुन यस श्रृंखलाका अघिल्ला फिल्महरूको तुलनामा कमजोर हो ।

यसैबीच, घरेलु टप–१० बाट बाहिरिए पनि पप स्टार माइकल ज्याक्सनको बायोपिक फिल्म ‘माइकल’ ले विश्वव्यापी रूपमा १ अर्ब डलरको आँकडा पार गरेको छ । यो इतिहासकै सबैभन्दा बढी कमाउने ‘म्युजिकल बायोपिक’ बनेको छ ।

फिल्मको कमाईमा बढोत्तरी

यो वर्षको घरेलु बक्स अफिस कलेक्सन हालसम्ममा करिब ५ अर्ब २० करोड डलर पुगेको छ, जुन गत वर्षको यसै अवधिको तुलनामा १०.७ प्रतिशतले बढी हो । मे र जुन महिना उत्कृष्ट रहे पनि जुलाईमा केही फिल्महरू जस्तै ‘सुपरगर्ल’ फ्लप भएका कारण व्यापार सुस्त देखिएको छ ।

यद्यपि, आगामी साताहरूमा रिलिज हुन लागेका क्रिस्टोफर नोलनको ‘द ओडिसी’ र ‘स्पाइडर–म्यानः ब्रान्ड न्यु डे’ ले अगस्टको बक्स अफिसमा आक्रामक व्यापार गर्ने अपेक्षा गरिएको छ ।