05/11/2026, 17:30:20
सोमबार, बैशाख २८, २०८३

घरेलु मैदानमा रियललाई हराउँदै बार्सिलोना च्याम्पियन


काठमाडौँ, वैशाख २८ गते । बार्सिलोनाले स्पेनि ला लिगाको उपाधि जितेको छ । घरेलु मैदान क्याम्प नाउँमा आइतबार राति भएको एल क्लासिको भिडन्तमा रियल म्याड्रिडलाई २–० गोलले हराउँदै बार्सिलोना च्याम्पियन बनेको हो ।

६२ हजार दर्शकसामु बार्सिलोनाले रियललाई स्तब्ध बनाउँदै उपाधि चुम्यो । लगातार दोस्रो पटक ला लिगा उपाधि जितेको बार्सिलोनाको यो समग्रमा २९औँ उपाधि हो । बार्सिलोनाको जितमा मार्कुस रासफोर्डले नवौँ र फेरान टोरेसले १८औँ मिनेटमा गोल गर्नुभएको थियो ।

दोस्रो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा रियलले केही गोलका लागि मौका पाएपनि सदुपयोग गर्न सकेन । बार्सिलोना तीन खेल अगावै च्याम्पियन बनेको हो ।

यस हारले दोस्रो स्थानमा रहेको रियलको उपाधि सम्भवना टरेको हो । जितसँगै शीर्ष टोली बार्सिलोनाले ३५ खेलबाट ९१ अङ्क बनायो । समान खेलबाट ७७ अङ्क बनाएको रियल दोस्रो स्थानमा छ ।