05/07/2026, 16:50:56
बिहिबार, बैशाख २४, २०८३

सरकारको निर्देशनपछि सरकारी बैंकका सञ्चालकले दिन थाले राजीनामा


काठमाडौं, वैशाख २४ गते । सरकारको निर्देशनपछि तीनवटा सरकारी स्वामित्वका बैंकहरू राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका सञ्चालकहरूले धमाधम राजीनामा दिएका छन् ।

पद छोडेर सरकारलाई मार्ग प्रशस्त गर्न भन्दै ती सञ्चालकहरूबाट राजीनामा आउने क्रम सुरु भएको अर्थ मन्त्रालय स्रोतले बताएको छ । सरकारकोतर्फबाट बुधबार साँझसम्म तीनवटै बैंकका सञ्चालकहरूलाई पदबाट राजीनामा दिनु भन्ने स्पष्ट सन्देश आएको एक सञ्चालकले बताए । सरकारी बैंकका सञ्चालकहरूले अर्थ मन्त्रालय वित्तीय समन्वय महाशाखामा राजीनामा दिनुपर्छ ।

बिहीबार दिउँसो २ बजेसम्म राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका अधिकांश सञ्चालकबाट राजीनामा आइसकेको र नेपाल बैंकबाट पनि सञ्चालकहरूको राजीनामा आउने जानकारी प्राप्त भएको अर्थ मन्त्रालय स्रोतको भनाइ छ ।

तीनवटै सरकारी बैंकमा अर्थ मन्त्रालयबाट पनि सहसचिवहरूले सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका छन् । तीमध्ये राष्ट्रिय वाणिज्य बैंकमा सञ्चालक रहेका थानप्रसाद पंगेनी अवकाश भइसकेका छन् । नेपाल बैंकका सञ्चालक रहेका सहसचिव महेश भट्टराईको हेटौँडा र कृषि विकास बैंकका सञ्चालक सेवन्तक पोखरेलको जनकपुर सरुवा भइसहेको छ ।

अघिल्लो सरकारबाट राष्ट्रिय वाणिज्य बैंक अध्यक्षमा देवकुमार ढकाल, कृषि विकास बैंक अध्यक्षमा डिमप्रसाद पौडेल र नेपाल बैंकको अध्यक्षमा डिल्लीराज शर्मा नियुक्त भएका थिए ।