04/19/2026, 20:38:30
आइतबार, बैशाख ०६, २०८३

आइतबार राति तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना


काठमाडौँ, वैशाख ६ गते । मौसम पूर्वानुमान महाशाखाले आइतबार राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको बताएको छ ।

महाशाखाले आइतबार साँझ जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार हिमाली भूभागमा साधारणतया बादल लाग्ने, पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

सोमबार दिउँसो कोशी प्रदेश लगायत बाँकी पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने र तराई भूभागमा आंशिक बादल लाग्नेछ । सो दिन मधेस प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरुमा तातो दिन हुने सम्भावना रहेको छ ।

यसैगरी, मङ्गलबार दिउँसो देशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने, कोशी प्रदेशको पहाडी र तराई तथा बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्ने र बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

सो दिन पनि मधेस प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरुमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।