10/03/2026, 22:41:02
शनिबार, असोज १७, २०८३

शिक्षा राष्ट्रप्रति सचेत र उत्तरदायी नागरिक बनाउने खालको हुनुपर्छ: राष्ट्रपति पौडेल

FILE PHOTO - SETOPRESS.COM
©FILE PHOTO - SETOPRESS.COM

काठमाडौँ, असोज १७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा केवल परीक्षामा राम्रो परिणाम ल्याउन वा प्रमाणपत्र हासिल गर्नमा सीमित नभई व्यक्तिलाई आफ्नो समाज, संस्कृति, इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बनाउन सघाउने खालको हुनुपर्ने बताउनुभएको छ।

गोदावरी र जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलको ७५औँ वार्षिकोत्सव समारोहलाई शनिबार ललितपुरमा सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो। शिक्षा व्यक्तिको ज्ञान, विवेक, चरित्र र जिम्मेवारीबोधको विकास गर्ने सशक्त माध्यम भएकाले देशको विविधतालाई सम्मान गर्दै राष्ट्रिय एकता र सामाजिक सद्भाव अभिवृद्धि गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

सूचना प्रविधिको द्रुत विकास भएको आधुनिक युगमा समयको मागअनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्ने राष्ट्रपति पौडेलको भनाइ थियो। उहाँले ज्ञान र सीपका साथै नैतिकता, अनुशासन, सिर्जनशीलता, सहकार्य, करुणा र सामाजिक उत्तरदायित्व भएका नागरिक निर्माण गर्नु आजको शिक्षाको प्रमुख दायित्व भएको बताउनुभयो।

साथै, स्वदेशमै उत्पादन र रोजगारीका अवसर सिर्जना गरी आयात प्रतिस्थापन र निर्यात प्रवर्धन गर्ने तथा हरेक नागरिकमा देशभक्तिको भावना अभिवृद्धि गर्ने किसिमको शिक्षा प्रदान गर्न विशेष ध्यान दिनुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिनुभयो।

क्षेत्र/विषय (Area/Topic)प्रमुख भनाइ तथा सन्देश (Key Messages)
कार्यक्रम र स्थानसेन्ट जेभियर्स स्कुल (गोदावरी/जावलाखेल) को ७५औँ वार्षिकोत्सव, ललितपुर
शिक्षाको वास्तविक उद्देश्य • प्रमाणपत्र र परीक्षा परिणाममा मात्र सीमित नभई ज्ञान, विवेक, चरित्र र जिम्मेवारीबोधको विकास गर्नु
• समाज, संस्कृति, इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक निर्माण गर्नु
राष्ट्रिय एकता र विविधताविविधतालाई सम्मान गर्दै विद्यार्थीमा राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहअस्तित्वको भावना विकास गर्नु
प्रविधि र पाठ्यक्रमआधुनिक युग र समयको मागअनुरूप प्रविधिको उच्चतम प्रयोग गरी पाठ्यक्रम र पठनपाठन परिमार्जन गर्नु
उत्पादन र रोजगारीआयात प्रतिस्थापन र निर्यात प्रवर्धन गर्ने गरी स्वदेशमै उत्पादन, रोजगारी र देशभक्तिको भावना बढाउने शिक्षा दिनु