09/24/2026, 19:35:44
बिहिबार, असोज ०८, २०८३

शृङ्खलाबद्ध सुनका गहना चोरी: एक्लै बसेका र वृद्धवृद्धा लक्षित, प्रहरी अनुसन्धान तीव्र


लमजुङ, असोज ७ गते । लमजुङको बेसीशहर नगरपालिका र मर्स्याङ्दी गाउँपालिका क्षेत्रमा पछिल्लो समय सुनका गहना चोरीका घटनाहरू ह्वात्तै बढेका छन्। केही दिनको अन्तरालमै गहना चोरीका तीन वटा छुट्टाछुट्टै घटना सार्वजनिक भएपछि स्थानीयवासीमा त्रास फैलिएको छ।

चोरीमा संलग्न गिरोहले विशेष गरी घरमा एक्लै बसेका व्यक्ति, वृद्धवृद्धा तथा घरमा कोही नभएको मौका पारेर ताला वा झ्यालको ग्रिल फोडेर चोरी गर्ने गरेको पाइएको छ। मर्स्याङ्दी–३ थाकनकी ९३ वर्षीया वृद्धा कर्ण गुरुङ सुतिरहेको अवस्थामा कानको रिङ र नाकको फुली चोरी भएको छ भने बेसीशहर–७ की गोमा घिमिरे घाँस काट्न गएको मौकामा घरबाटै १४ तोला सुन चोरी भएको छ।

यसैगरी, बेसीशहर–२ बोहराबेसीकी सबिता बोगटी सुतिरहेकै अवस्थामा झ्यालको ग्रिल खोलेर घाँटीबाटै सुनको सिक्री थुतेर भागिएको घटना पनि प्रहरीमा दर्ता भएको छ। यी सबै घटनामा चोरी गर्ने समूहको मुख्य निशाना सुनका गहना नै रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ज्ञानेन्द्र क्षेत्रीका अनुसार घटनाहरूलाई गम्भीर रूपमा लिएर विभिन्न कोणबाट सूक्ष्म अनुसन्धान भइरहेको छ। चोरीका घटनाहरूमा कुनै अन्तरसम्बन्ध छ वा छैन भन्नेबारे खोजबिन भइरहेको र प्रहरीले घरमा गहना राख्दा तथा बाहिर निस्कँदा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

क्र.सं.स्थान / पालिकापीडित व्यक्तिचोरी भएका गहना विवरणचोरीको प्रकृति / शैली
मर्स्याङ्दी गाउँपालिका–३ (थाकन)९३ वर्षीया कर्ण गुरुङकानको रिङ र नाकको फुलीवृद्धा घरमा सुतिरहेको अवस्थामा थुतेर चोरी
बेसीशहर नगरपालिका–७ (चण्डीडाँडा)४९ वर्षीया गोमा घिमिरेकरिब १४ तोला सुनका गहनाघरधनी घाँस काट्न गएको बेला ताला फोरेर दराजबाट चोरी
बेसीशहर नगरपालिका–२ (बोहराबेसी)सबिता बोगटी१ तोला ३ लालको सुनको सिक्रीराति झ्यालको ग्रिल खोलेर सुतिरहेकी महिलाको घाँटीबाटै तानिएको
अनुसन्धान स्थितिजिल्ला प्रहरी कार्यालय, लमजुङचोरको पहिचान हुन बाँकी; विभिन्न कोणबाट अनुसन्धान जारी