09/23/2026, 15:46:35
बुधबार, असोज ०७, २०८३

संयुक्त राष्ट्रसंघ: हाम्रो विश्वका विभाजनहरू गहिरिँदै छन्’ : महासचिव गुटेरेसको विदाई भाषण, मानवजातिलाई ४ ठूला चुनौतीको चेतावनी


८ असोज, न्युयोर्क । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले ८१औँ साधारणसभा (UNGA) को उद्घाटन सत्रलाई सम्बोधन गर्दै विश्वका विभाजनहरू (faultlines) गहिरिँदै गएको गम्भीर चेतावनी दिएका छन्। आफ्नो कार्यकालको अन्तिम १०० दिन बाँकी रहेको अवस्थामा दिएकाे यस विदाई भाषणमा उनले मानवजातिले शान्ति, असमानता, जलवायु परिवर्तन र कृत्रिम बुद्धिमत्ता (AI) गरी चारवटा ठूला ‘शक्ति परीक्षण’ (power tests) को सामना गर्नुपर्ने बताए।

“हाम्रो विश्वका विभाजनहरू गहिरिँदै छन्। दरारहरू अब खोल्चोमा परिणत भएका छन्,” गुटेरेसले भने, “पछिल्लो दशकमा भयावह परिणामसहितका युद्धहरू सुरु भए र निन्दनीय क्रूरताका साथ लम्बिए।”

बदलिँदो विश्व र ‘नेटवर्क गरिएको बहुध्रुवीयता’
गुटेरेसले विश्व अहिले अपरिवर्तनीय रूपमा बहुध्रुवीय (multipolar) बन्दै गएको बताए। तर, यसले विखण्डन र अविश्वासको बाटो नलिई ‘नेटवर्क गरिएको बहुध्रुवीयता’ (networked multipolarity) को बाटो लिनुपर्ने उनको तर्क छ। उनका अनुसार शक्ति तीन तरिकाले परिवर्तन भइरहेको छ: राज्यहरू बीच नयाँ आर्थिक र प्राविधिक शक्ति केन्द्रको उदय, सरकारबाट निजी कर्पोरेट र व्यक्तिहरूमा शक्तिको स्थानान्तरण, र मानिसहरूले मेशिनहरू (AI र घातक स्वायत्त हतियार) लाई शक्ति हस्तान्तरण गर्दै जानु।

“विशेषगरी महाशक्तिहरूले यो बुझ्नुपर्छ: तिनीहरूको शक्ति त्यति ‘महा’ छैन, यसका सीमाहरू छन्,” उनले भने, “सैन्य शक्तिले मात्र शान्ति सुनिश्चित गर्न सक्दैन, आर्थिक शक्तिले मात्र स्थिरता ल्याउँदैन र प्राविधिक शक्तिले मात्र सुरक्षा ग्यारेन्टी गर्दैन।”

चारवटा ठूला ‘शक्ति परीक्षण’
गुटेरेसले मानवजातिको भविष्य चारवटा मुख्य चुनौतीहरू कसरी सम्बोधन गरिन्छ भन्नेमा निर्भर गर्ने बताए:

१. शान्ति र सुरक्षा: मध्य पूर्व, युक्रेन, सुडान र म्यानमारमा भइरहेका द्वन्द्वहरूको उल्लेख गर्दै उनले गाजामा भइरहेको विनाशलाई “महासचिवको रूपमा मेरो कार्यकालमा मैले देखेको सबैभन्दा भयावह हत्या र विनाश” भने। उनले अन्तर्राष्ट्रिय न्यायालयका आदेशहरू पालना गर्न आग्रह गर्दै सुरक्षा परिषद्को सुधार गर्दै अफ्रिकालाई स्थायी सदस्यता दिनुपर्नेमा जोड दिए। “२१औँ शताब्दीको सुरक्षा परिषद् अफ्रिकी स्थायी सदस्यविना अन्यायपूर्ण र अरक्षणीय छ,” उनले भने।

२. असमानता: असमानतालाई आर्थिक मात्र नभई ‘शक्तिको समस्या’ बताउँदै उनले अन्तर्राष्ट्रिय वित्तीय संरचनाको सुधार, ऋण राहत र लैङ्गिक समानताको वकालत गरे। संयुक्त राष्ट्रसंघले इतिहासमै पहिलो पटक सबै उच्च नेतृत्व तहमा लैङ्गिक समानता (gender parity) हासिल गरेको उनले गर्वका साथ जानकारी दिए।

३. जलवायु संकट: जलवायु संकटलाई ‘पुस्तान्तरण शक्ति असमानता’ (intergenerational power imbalance) को संज्ञा दिँदै उनले ३ वर्षअघि नेपालको हिमालमा हिमनदी पग्लिएको चेतावनी दिएको सम्झना गरे। उनले १.५ डिग्री सेल्सियसको सीमा नाघ्न लागेको भन्दै जीवाश्म इन्धनबाट टाढा जान राष्ट्रिय योजना बनाउन आग्रह गरे। “प्रदूषकहरूले क्षतिपूर्ति तिर्नुपर्छ (Polluters must pay),” उनले भने, “लस एन्ड ड्यामेज (Loss and Damage) कोष अहिलेको तुलनामा धेरै ठूलो बनाउनुपर्छ।”

४. प्रविधि र कृत्रिम बुद्धिमत्ता (AI): डेटा र एल्गोरिदमबाट आउने नयाँ शक्तिलाई चौथो ठूलो चुनौती बताउँदै उनले AI को जोखिम व्यवस्थापनका लागि बहुपक्षीय ढाँचा आवश्यक रहेको स्पष्ट पारे। “बच्चाहरू कहिल्यै पनि अनियन्त्रित प्रणालीका परीक्षण विषय बन्न हुँदैनन् र जीवन-मृत्युका निर्णयहरू कहिल्यै पनि मेशिनहरूलाई सुम्पिनु हुँदैन। किलर रोबोटहरू (killer robots) लाई हाम्रो भविष्यमा कुनै स्थान छैन,” उनले स्पष्ट पारे।

विदाई प्रतिबद्धता
आफ्नो कार्यकाल आगामी जनवरी १ मा सकिए पनि संयुक्त राष्ट्रसंघको चार्टर र मानव अधिकारको मूल्यका लागि आफू सधैं लडिरहने उनले प्रतिबद्धता जनाए। “शक्तिको कानुन (law of power) भन्दा कानुनको शक्ति (power of law) नै विजयी हुनुपर्छ,” गुटेरेसले भने, “म कहिल्यै पनि हार मान्ने छैन।”