१८ मिनेट अगाडी


न्युयोर्क/काठमाडौं । अमेरिकाले नेपालमा आएको भयावह बाढीपछिको उद्धार तथा पुनर्निर्माण कार्यका लागि थप ३१ मिलियन डलर (करिब ४ अर्ब १५ करोड रुपैयाँ) को सहयोग घोषणा गरेको छ। यससँगै बाढी राहतमा अमेरिकाको जम्मा सहयोग रकम ३६ मिलियन डलरभन्दा बढी पुगेको छ।
राजनीतिक मामिलाका लागि अमेरिकी उपविदेश मन्त्री एलिसन हुकरले न्युयोर्कमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गर्दै यो सहयोगको घोषणा गरेकी हुन्। भेटका क्रममा उपविदेश मन्त्री हुकरले नेपालमा आएको बाढीबाट प्रभावित सबैमा अमेरिकाको तर्फबाट गहिरो समवेदना प्रकट गरिन्। उनले बाढीका कारण बेपत्ता भएका करिब ७० जना अमेरिकी नागरिकका परिवारप्रति पनि हार्दिक समवेदना व्यक्त गरिन्।
यस पटकको थप सहयोग रकमलाई तीन मुख्य क्षेत्रमा विभाजन गरिएको छ:
१. स्थायी पुल निर्माण (१० मिलियन डलर): अमेरिकी कांग्रेससँगको समन्वयमा १० मिलियन डलरको रकम स्थायी र विशेष डिजाइनका पुलहरू निर्माणका लागि विनियोजन गरिनेछ। यी पुलहरू अमेरिकी कम्पनीबाट खरिद गरिनेछन्, जसले प्रभावित क्षेत्रहरूमा यातायात पूर्वाधार पुनर्स्थापना गर्न र क्षेत्रीय जडान सुदृढ गर्न मद्दत गर्नेछ।
२. राहत तथा पुनर्स्थापना (८ मिलियन डलर): प्रभावित समुदायलाई खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH), आवास, सुरक्षा, जीविकोपार्जन र जाडोयामको तयारी (winterization) का लागि थप ८ मिलियन डलरको सहायता उपलब्ध गराइनेछ।
३. ड्रोन प्रविधि (१३ मिलियन डलर): भावी विपद् व्यवस्थापन र उद्धार कार्यलाई अझ प्रभावकारी बनाउन अमेरिकामा निर्मित ड्रोनहरू उपलब्ध गराउन १३ मिलियन डलर विनियोजन गरिनेछ।
उपविदेश मन्त्री हुकरले अमेरिका नेपाल सरकारसँग निकट रूपमा काम गरिरहने र जहाँ जति आवश्यक छ, थप सहायता पहिचान गरी उपलब्ध गराउन प्रतिबद्ध रहेको बताइन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





























