09/23/2026, 12:23:57
बुधबार, असोज ०७, २०८३

देशभर बदली, केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना


काठमाडौँ, असोज ६ गते । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहँदा आगामी २४ घण्टामा अधिकांश भू–भागमा बदली रहने मौसम पूर्वानुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति

आज राति कोशी, मधेश र बागमती प्रदेशलगायत देशका हिमाली भू–भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भाग तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा आंशिक बदली रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।

मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानमा पनि मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा समेत वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

कोशी प्रदेशको पहाडी तथा बागमती प्रदेशको पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

भोलि दिउँसो

भोलि दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुनसक्नेछ।

कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

न्यून चापीय प्रणाली थप शक्तिशाली बन्दै

मौसम विश्लेषणअनुसार हाल नेपालमा मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव छ। यसैबीच बङ्गालको खाडीको पश्चिम–मध्य भाग आसपास न्यून चापीय क्षेत्र (Depression) रहेको छ।

उक्त प्रणाली आगामी दिनमा थप शक्तिशाली बन्दै ‘Deep Depression’ अर्थात् बलियो न्यून चापीय क्षेत्रका रूपमा पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना रहेको मौसम विश्लेषणमा उल्लेख छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा यात्रा गर्दा तथा नदी, खोलानाला र पहिरोको जोखिम भएका स्थानमा बसोबास गर्नेहरूले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ।